काठमाडौँ । हिजोआज बालबालिकाको अधिकांश समय स्क्रिनकै आसपास बित्छ, स्कुलको होमवर्क हेर्न होस् वा अनलाइन क्लास वा मोबाइलमा आफूलाई मन परेको कार्टुन हेर्न नै किन नहोस् । बच्चा लामो समय फोन वा टिभीको अगाडि हुन्छन् ।
यस्तोमा बुवाआमालाई भने यस्तो बानीले बच्चाको आँखा नै बिग्रिने हो कि भन्ने चिन्ता हुन्छ । तर बच्चा आफैँले ‘मैले कम देख्न थाले’ वा ‘आँखा धमिलो हुन थाल्यो’ प्रायः भन्दैनन् ।
आँखाको समस्या चाँडै पत्ता लगाउन सकुन् भनेर आमाबाबुले आफ्नो बच्चाको व्यवहार र बानीमा हुने साना परिवर्तनहरूमा ध्यान दिनुपर्छ ।
जब बच्चाको टाढाको दृष्टि बिग्रन थाल्छ, उनीहरूको व्यवहारमा थोरै परिवर्तन आउन थाल्छ । तपाईंले ध्यान दिनुभयो भने, यी सङ्केतहरू सजिलै देख्न सकिन्छ :
- टिभी हेर्दा बारम्बार आँखा चिम्लने वा आँखालाई साँघुरो पार्ने ।
- कक्षामा ब्ल्याकबोर्डमा लेखिएका कुरा स्पष्ट रूपमा नदेखिने भएकोले अगाडिको सिटमा बस्न जोड दिने
- पुस्तक अनुहारको धेरै नजिक ल्याउने वा पढ्दा धेरै झुक्ने ।
- अध्ययन गर्दा बारम्बार ध्यान विचलित हुने वा ध्यान गुमाउने ।
- टाउको दुख्ने, आँखा भारी हुने र थकानको बारम्बार गुनासो गर्ने ।
- कुनै कुरा हेर्दा एउटा आँखा बन्द गर्ने वा गर्धनलाई एकातिर झुकाउने ।
- खेलौना, तस्बिर वा मानिसहरूको अनुहार नचिनेर धेरै नजिक जाने ।
व्यवहारमा देखिने यी परिवर्तनहरू आलस्य मात्र होइनन् । यदि तपाईंको बच्चा पहिले चित्र कोर्ने, किताब पढ्ने वा पार्कमा दौडने काममा मग्न हुन्थ्यो, तर अब अचानक यी गतिविधिहरूबाट टाढा रहन थालेको छ भने तिनीहरूलाई गाली नगर्नुहोस् । स्पष्ट रूपमा देख्न नसकेर पो यसो गरेका हुन् कि ?
- पढाइमा अचानक कम अङ्क आउने वा बोर्डबाट गलत हिज्जे लेख्ने ।
- आफ्नो आँखाको धेरै नजिक मोबाइल फोन वा ट्याब्लेट प्रयोग गर्ने ।
- केही समय पढेपछि चिडचिडाहट हुने र बारम्बार आँखा रगड्ने ।
यस्ता हरेक लक्षण देखिनुको मतलब बालबालिकालाई चस्मा नै लगाउनुपर्छ भन्ने होइन । कैयौँ पटक आँखाको एलर्जी, सुक्खापन, वा मांसपेशीको तनावले पनि यस्तो समस्या आउन सक्छ । त्यसैले एक पटक योग्य आँखा विशेषज्ञसँग परामर्श गर्नुहोस् ।
- टिभीको धेरै नजिक बस्नुको अर्थ चस्मा नै लगाउनुपर्छ भन्ने हो त ?
आमाबाबुको मनमा प्रायः यो प्रश्न उठ्छ । तर एउटै बानीको आधारमा निष्कर्षमा पुग्नु हुँदैन । बच्चाहरू कहिलेकाहीँ रमाइलोको लागि वा बानीकै कारण पनि टिभीको नजिक गएर बस्छन् । तर यदि तिनीहरूले नियमित रूपमा यो गर्छन् र टाढाका वस्तुहरू हेर्दा उनीहरूको आँखा खुम्चिन्छ भने आँखा परीक्षण गराइहाल्नुहोस् ।
नजिकबाट किताब पढ्नु: यो मायोपिया, वा दूर दृष्टि कमजोर हुनुको प्रमुख सङ्केत हुन सक्छ ।
बारम्बार आँखा रगड्नु : यसलाई पनि कहिल्यै बेवास्ता नगर्नुहोस् । एलर्जी वा आँखा जलनको कारणले पनि यस्तो हुन सक्छ ।
- किन जरुरी छ नियमित आँखा जाँच ?
बच्चाहरूको आँखा नियमित रूपमा जाँच गराउनु अत्यन्त महत्त्वपूर्ण छ । दृष्टिसम्बन्धी धेरै समस्याहरूले सुरुमा कुनै स्पष्ट लक्षणहरू देखाउँदैनन् । आँखाको दृष्टिमा अलिअलि समस्या छ भनेर पनि बच्चाले पूर्ण रूपमा सामान्य व्यवहार गर्छ, उसलाई केही समस्यामा पो छ कि भनेर परिवारमा कसैले याद पनि गर्दैन । कतिपय अवस्थामा बच्चाले आफ्नो आँखामा के भइरहेको छ भन्ने खुट्याउन पनि सक्दैन ।
समय छँदै समस्या पत्ता लाग्यो भने, दृष्टिमा देखिएका समस्याहरू सजिलै सुधार्न सकिन्छ । मायोपिया आजकल बच्चाहरूमा द्रुत रूपमा बढ्दो समस्या हो । त्यसैले ‘छोरा/छोरी, तिमी सबै राम्रोसँग देखिरहेका छौ ?’ भन्ने प्रश्न सोधेर मात्रै आश्वस्त नहुनुहोस् । उनीहरूको जवाफ प्रायः ‘छु’ भन्नेमै आउँछ । बरु उनीहरूको हेर्ने, पढ्ने र खेल्ने बानीमा ध्यान दिनुहोस् । समयमै चालिएको सानो कदमले तपाईंको बच्चाको बहुमूल्य आँखालाई जोगाउन सक्छ ।








प्रतिक्रिया