१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

मध्यपूर्वको सुरक्षा स्वरूप परिवर्तन गर्न सीको प्रस्ताव



काठमाडौं ।
मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा स्वरूप परिवर्तनको आवश्यक रहेको बताएका छन् । इजिप्ट भ्रमणका क्रममा बुधबार सीले यस्तो बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

इरान र अमेरिकाबीच युद्ध चलिरहेको बेला सीले इजिप्ट पुगेर यस्तो धारणा व्यक्त गरेका हुन् । बुधबार इजिप्टका समकक्षी अब्देल फत्ताह अल-सीसीसँग सीले भेट गरेका थिए । उनी एक दशकपछि पहिलोपटक इजिप्ट पुगेका हुन् ।

टर्किएको अग्रसरतामा मुस्लिम राष्ट्रको छुट्टै सैन्य संगठन अघि बढिरहेको अवस्थामा सीको यस्तो धारणा आएको हो । टर्किए, पाकिस्तान र साउदी अरब मिलेर मक्का गठन गरेका छन् । उनीहरूले गठन गरेको यस सैन्य संगठनमा इजिप्टलाई पनि सामेल गराउने तयारी भइरहेका बेला सीले इजिप्ट पुगेर सुरक्षा स्वरुप परिवर्तन गर्न सुझाएका हुन् ।

अलसीसीसँग सीले मध्यपूर्वका जनता नै त्यहाँका मालिक रहेको भन्दै बाह्य हस्तक्षेपको विरोध आवश्यक रहेको बताएको सिन्ह्वालाई उद्धृत गर्दै अलजजिराले लेखेको छ । ‘मध्यपूर्वका जनता नै आफ्ना मामिलाका मालिक हुन् । यो सिद्धान्तलाई कायमै राख्दै बाह्य हस्तक्षेपको विरोध गर्नुपर्छ । शान्ति र सुरक्षा सम्बन्धी संवादलाई बलियो बनाउनका लागि क्षेत्रीय देशहरूसँग साझेदारी गर्नुपर्छ,’ सीले भनेका छन् ।

सीले त्यहाँ इरान युद्धबारे पनि छलफल गरेका थिए । उक्त छलफलमा युद्धको कूटनीतिक समाधान खोज्नुपर्ने धारणा सीले व्यक्त गरेको इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ ।

इजिप्ट पुगेर सीले सुएज नहरमा रहेको द्विपक्षीय औद्योगिक क्षेत्रको तेस्रो चरण सुरूवात गर्ने सम्झौतामा पनि हस्ताक्षर गरेका छन् । उक्त क्षेत्रमा २०० भन्दा बढी कम्पनीहरूले चार अर्ब डलरको लगानी गरेको बताइएको छ ।

चीनले त्यहाँ गरेको नयाँ लगानीबारे केही पनि खुलाइएको छैन । स्ट्रेट अफ होर्मुजमा निरन्तर अवरोध चलिरहेका बखत सीले विकल्प खोजिरहेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

सीले अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षाका लागि चीनले क्षेत्रीय देशहरूसँग सहकार्य गर्ने पनि बताएका छन् । ‘अन्तर्राष्ट्रिय जलमार्गमा द्वन्द्व उत्पन्न गराउने कारकलाई निर्मूल पार्न क्षेत्रीय राष्ट्रहरूसँग सहकार्य गर्न चीन तयार छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०८३ बिहिबार ००:००  ७ : ५७ बजे