काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनको सवालमा सरकार असफल देखिएको टिप्पणी गरेकी छन् ।
शुक्रबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले महँगी र कालोबजारीका कारण जनताको जीवनयापनमा प्रभाव परेको र सुशासनका सवालमा समेत सरकार असफल देखिएको टिप्पणी गरिन् ।
उनले देशमा महँगी चरम विन्दुमा पुगेकाले सामान्य र मध्यमवर्गीय परिवारलाई खाद्यान्न तथा ग्यास आपूर्तिका कारण दैनिक जीविकोपार्जन गर्न गाह्रो भइरहेको बताइन् ।
सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र स्वदेश तथा विदेशमा रहेका नेपालीहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता र लक्ष्य पूरा गर्न नसकेको बताइन् ।
सरकारले सुशासनको धज्जी उडाएको र प्रधानमन्त्री कार्यालय मातहतको सफ्टवेयर कम्पनीका सीईओ नियुक्ति प्रकरणजस्ता घटनाले सरकारको इमानदारितामाथि गम्भीर प्रश्न उठाएको बताइन् ।
उनले प्रधानमन्त्रीले संसद्लाई पूर्ण रूपमा उपेक्षा गरेको, संसदीय नियमावली अनुसार, संसद्मा उपस्थित भएर जवाफ नदिएको र संसद् छलेर अध्यादेश ल्याउने जस्ता गैरलोकतान्त्रिक अभ्यास गरेको बताइन् ।










प्रतिक्रिया