काठमाडौं ।
संघीय संसद्का दुवै सदनको अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गरेका हुन् ।
२०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म ६२ वटा बैठक बसी २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा व्यतित भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।
यस अधिवेशनमा दुवै सदनबाट १२ वटा विधेयकहरू पारित भइ ११ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् ।
सभामुख अर्यालले संसद्को यस अधिवेशनमा कानुन निर्माण बहुमतको प्रक्रिया मात्र नभई संवाद, विमर्श, सहमति र सहभागिताबाट जनमुखी बन्ने मान्यता स्थापित भएको र महत्त्वपूर्ण कानुनहरू निर्माण गरिएको बताए ।
युवा सांसदहरूको सक्रियता, अध्ययनशीलता, विश्लेषण र परिपक्वताको प्रशंसा गर्दै युवाको उर्जा र अनुभवी सदस्यहरूको ज्ञानको समन्वयले संसद्लाई जीवन्त बनाएको उनले बताए ।
सभामुख अर्यालले सत्तापक्ष र प्रतिपक्षको औपचारिक विभाजनभन्दा माथि उठेर संसदीय मर्यादा, सहजता र प्रभावकारिता कायम राख्न सबै सदस्यहरूले देखाएको सहयोगप्रति आभार व्यक्त गरे ।
उनले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्राप्त पत्रअनुसार, २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएको पत्र वाचन गरेका थिए ।










प्रतिक्रिया