काठमाण्डौ ।
विभिन्न जिल्लामा आँखा पाक्ने रोगको समस्या देखिएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने भएकाले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने विशेषज्ञको सुझाव छ ।
मनसुनको बेला शुरु भएको आँखा पाक्ने समस्या केही समयमै हराउनुपर्ने भएपनि यसपाली ६ महिना भैसक्दा पनि संक्रमण घटेको छैन । यसको जोखिम थप बढेको छ ।
दशैँको समयमा हुने आवतजावत, नोटको हस्तान्तरण, अरुको मोबाइल चलाउने र सरसफाईप्रति हेलचेक्राईले गर्दा पछिल्लो समयमा आँखा पाक्ने समस्या बढ्दो क्रममा देखिएको डाक्टरहरु बताउँछन् ।
दशैँ र यसपछिको समयमा यो समस्या अझै बढ्ने हो की भन्ने चिन्ता पनि थपेको छ । आँखा पाक्ने रोग निको हुन एक देखि ३ हप्तासम्म लाग्ने भएकाले यसमा विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरुको जोड छ ।
आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, चिलाउने, आँखाबाट आँसु बग्ने वा कचेरा निस्कने, आँखाको ढकनी सुन्निने, आँखा बिझाउने तथा घाम वा उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन सक्छन् ।
स्वास्थ्यसम्बन्धी सुझावअनुसार, रोगको संक्रमणबाट बच्न संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, सिरानीको प्रयोगलगायतका व्यक्तिगत सामग्रीमा ध्यान दिनुपर्ने तिलगंगा आँखा अस्पतालका युभिआइटिस बिशेषज्ञ प्रा.डा अनु मानन्धरको सुझाव छ ।
आँखा छुनु अघि र छोइसकेपछि साबुनपानीले राम्ररी हात धुने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने बानीले संक्रमण फैलिने जोखिम कम हुने उहाँ बताउनुुहुन्छ ।
सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने भएपनि आँखामा अत्यधिक दुखाइ, दृष्टि धमिलो हुने वा उज्यालो सहन नसक्ने समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिन उहाँको सल्लाह छ ।
आँखा पाक्ने रोगको संक्रमणबाट जोगिन व्यक्तिगत सरसफाइ कायम राख्न र लक्षण देखिएमा समयमै स्वास्थ्य सेवा लिन स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरेको छ ।











प्रतिक्रिया