६ असार २०८३, शनिबार | Sat Jun 20 2026

‘प्रेसमाथि अङ्कुश लगाउने गतिविधिले लोकतन्त्र कमजोर हुन्छ



जनकपुरधाम ।
सरकारले समाचार प्रकाशन र प्रसारणमाथि अंकुश लगाउने गतिविधि बन्द गर्नुपर्ने धारणा सञ्चारकर्मीले व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ द्वारा आज यहाँ आयोजित ऐक्यवद्धता र्‍याली र कोणसभामा सञ्चारकर्मीले सो धारणा राख्दै प्रेसमाथि अंकुश लगाउने गतिविधिले लोकतन्त्र कमजोर हुने बताए।
वरिष्ठ पत्रकार राजेश्वर नेपालीले लोकतन्त्र स्थापनाका लागि प्रेस चाहिने तर लोकतन्त्र स्थापना भएपछि प्रेससँग शत्रुवत् व्यवहार गर्नु चिन्ताको विषय भएको बताए।
अर्का वरिष्ठ पत्रकार रामभरोस कापडीले प्रेसमाथि गिद्धेदृष्टि राख्नु अँध्यारोलाई निम्तो दिनु भएको बताए।
राजनीतिक विश्लेषक रोशन जनकपुरीले प्रेसमाथि सुनियोजित ढंगले आक्रमण हुनु लोकतन्त्रका लागि श्रेयस्कर हुन नसक्ने बताए।
नेपाल पत्रकार धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले सरकार प्रेस स्वतन्त्रतामाथि आक्रमण गरी प्रेसलाई बन्धक बनाउने षडयन्त्र गरिरहेको आरोप लगाए।
प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानको सभापतित्वमा भएको सो सभामा उपाध्यक्ष केसी लामिछाने र महासचिव किरण कर्णले सरकार निरङ्कुशता लाद्ने गतिविधितर्फ उद्धृत रहेको विचार राखे। रासस

प्रकाशित मिति : १८ बैशाख २०७६ बुधबार ००:००  २ : ४० बजे