५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

लिबियाको भूमध्यसागरमा डुंगा पल्टिँयो, ६५ जनाको मृत्यु



एजेन्सी ।
लिबियाबाट युरोप जाँदै गरेको डुंगा भूमध्यसागरमा पल्टिँदा कम्तीमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार उक्त डुंगा ट्युनिसिया नजिकको समुद्री क्षेत्रमा दुर्घटनामा परेको हो ।
यूएनएचसीआरका तर्फबाट जारी विज्ञप्तिमा दुर्घटनामा परेका १६ जनाको सकुशल उद्धार गरिएको जनाइएको छ । उद्धार गरिएका व्यक्तिहरुका अनुसार बिहीबार लिबियाबाट युरोपतर्फ प्रस्थान गरेको डुंगा समुद्रमा तीव्र रूपमा उठेका लहरहरूका कारण दुर्घटनामा परेको हो। सामुद्रिक बाटो हुँदै गैरकानूनी रूपमा युरोप छिर्ने थुप्रै आप्रवासीहरूको भूमध्य सागरमा डुंगा दुर्घटनामा मृत्यु हुने गरेको छ ।
यस वर्ष यो नै सबै ठूलो दुर्घटना भएको अधिकारीहरूले जनाएको छ। यसै वर्ष भएका विभिन्न दुर्घटनामा करिब १०० जनाको मृत्यु भइसकेको छ । सन् २०१७ मा इटलीले लिबियालाई तटीय क्षेत्रमा सुरक्षा बढाउन र गैरकानुनी रूपमा आप्रवासीहरूलाई युरोप छिर्न नदिन दबाब दिएपछि पछिल्ला दुई वर्ष आप्रवासीहरूको युरोप छिर्ने दरमा केही कमी भए पनि बन्द भने भएको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०७६ शनिबार ००:००  १२ : ३५ बजे