८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

झापामा जंगली हात्तीको त्रास, सुरक्षाका लागि प्रहरी परिचालन



भद्रपुर ।
झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव बस्तीकोबीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको छ।
भारततिरबाट आएका ६ वटा हात्ती मंगलबार बिहानदेखि नै सो वडास्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन्।

हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ। हात्ती दिउँसो बास बस्ने र राति आहारका लागि सक्रिय हुने गर्दछ।

हात्तीबाट मानव बस्ती र विद्यालयमा क्षति नपुगोस् भनेर डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णु घिमिरेको नेतृत्वमा वन कार्यालयको टोली हात्ती रुग्न खटिएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै टोली विद्यालय र बस्तीको सुरक्षाका लागि परिचालन गरिएको छ।

करीब ३०० मिटरको दूरीमा रहेको श्री आधारभूत विद्यालयमा पढिरहेका डेढ सय विद्यार्थीलाई विद्यालय हाता बाहिर ननिस्कन र गाउँलेलाई हात्तीसँग नजिस्किन आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले बताए।

हात्ती हेर्न सर्वसाधारणको भीड बढ्दै गएको र हात्तीको बथान त्यहाँबाट बिच्किएमा बस्ती र विद्यालयमा पस्ने जोखिम भएको हुँदा सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले बताए।

झापामा भारतबाट बर्खायाममा आहाराको खोजीमा सयौँको बथानमा जङ्गली हात्ती बाहुनडाँगी हुँदै नेपाल पस्ने गर्छन् । हात्तीले दिनहुँ बालीनाली खाएर क्षति पुर्‍याउने गरेको छ भने हालसम्ममा हिंस्रक आक्रमणमा परेर दर्जनौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  ४ : ३८ बजे