८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

शुक्रबार रातिदेखि मौन अवधि सुरू, उल्लङ्घन गरे कडा कारबाही



काठमाण्डौं, ३० भदौ ।
स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनका लागि शुक्रबार (आज) राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरू हुनेछ ।
मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेल राजनीतिक दल, दल तर्फका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सञ्चार जगत्ले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मि वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने व्यवस्था छ ।
एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने तथा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्नअंकित पहिरन, टोपी, स्टीकर, प्रतीकचिह्न, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने निर्वाचन आचार संहितामा उल्लेख छ । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने प्रवक्ता ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ३० भदौ २०७४ शुक्रबार ००:००  ११ : ०६ बजे