७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कविताः भित्रै बस



नारायण खनाल ।
पथिकहरु
पथ भुल्दैछन
त्यागिहरु
मति पोल्दैछन
औषधिहरु आफै भ्रष्ट बन्दा
मास्कले लाजले
मास्क लगाउँदै छ
भगवान त आशिष दिन
हिचकिचाउने बेला
डाक्टर साहेवको कुरा नगर
सकेजति गरेकै छन
अझ सेवा भाव पलाओस
कामना गर
तिम्रो पेट भोकाएर
खप्न नसकि
ज्वरो आयो भने
तातोपानी खाउ
बाहिर कोरोना आ छ
भित्रै बस ।

०००

गगन चुम्बि निजी महल
गोजी छामेपछि
सरकारी अस्पताल पठाउँछन्
सरकारी अस्पताल भन्छ
जडिबुटी पाइएन
सुरक्षा सामग्रीमा किरा लागेको छ
त्यो औषधि न सुँघ
विषादी छरेको छ
जनता बबुरा
किरा खाउँ कि विषादी
भएका छन्
तैपनि
सम्हाल आफैंलाई जन हो
जीउ त आखिर
सरकारी न हो
सरकारको भर पर
पीडाले मन जति दुखेपनि
मन नकुँडाउ
तातोपानी खाउ
बाहिर कोरोना आ छ
भित्रै बस ।

०००

हे ! श्रमजीवी हो
कामधाम छैन
बन्दाबन्दि छ
काम बिनाको माम
कसरी सम्भव छ ?
विवसता यही हो
भोकै बस्न सक्ने बन
दुखमा रमाउने बानी पार

०००

हेर !
तिम्रै नाममा
बल ,अझ बलवान् बन्दैछ
त्यसैले
कमजोर पाखुरी नदेखाउ
भोकप्यासले सन्तान रुँदा
जब मुटु च्यातिन्छ
आफै मुन्टो निहुराउ
आँसुले जीवन बगाउ
तातोपानी खाउ
बाहिर कोरोना आ छ
भित्रै बस ।

०००

जीउ तात्यो
बान्ता भयो
सिँगान आयो
खोकी लाग्यो
छिमेकीले साँध सार्नाले
पीडाबोध भइ
छाती दुख्यो
निसास्सियो
अहँ, कतै नजाउ
नकचराहरु
ढोंगीहरु भन्दैछन्
तिमी छोइए छोइछिटो लाग्छ
त्यसैले
तातोपानी खाउ
मनोबल बढाउ
व्यायाम गर
खोजेर
आँखिझ्याले पछ्यौरी
भोको पेट कस

चित्त बुझाउ
नेपालीको जीवन
यसरी नै बित्छ भनेर
त्यसैले
बाहिर कोरोना आ छ
भित्रै बस ।

०००

पर्ख !
आउनेछ त्यो दिन
माटोले बीउ पाउने
श्रमले मूल्य पाउने
सरकारी अस्पतालमा
औषधि पाउने
पेटले अन्न भेटाउने
निजी अस्पतालहरु
मुख मात्रै मिठाउने
र्याल मात्रै काढ्ने
सन्तानले आमाको काख पाउने
कर्मठले मातृभूमि टेक्ने
शासकले
समृद्धिको गोरेटो भेट्ने
जनताको मन बुझ्ने
त्यसैले
कठोर बन
साहसी बन
एकताबद्ध होउ
तातोपानी खाउ
बाहिर कोरोना आ छ
भित्रै बस ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ९ : ४८ बजे