दिपक अनुरागी, कपिलवस्तु, १० पुस ।
प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने आफुहरुको माग हावादारी नभएको प्रतिनिधिसभा सांसद चक्रपाणी खनाल ‘बलदेव’ ले बताएका छन । कपिलवस्तुमा प्रदेश नम्बर ५ को राजधानी बनाउनुपर्ने थुप्रै कारण रहेकोले राज्यले यस विषयलाई गम्भिरता पूर्वक लिन आग्रह गरे । कपिलवस्तुको बुड्ढीमा सोमबार भएको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘आजभन्दा २६ सय बर्ष अगाडीका गणराज्य मध्ये सबैभन्दा विकसित र बलियो गणराज्य कपिलवस्तु थियो, राजा शुधोधनको राजधानी पनि यही भएकोले २१ औ शताब्दीमा पनि कपिलवस्तुमा प्रदेश राजधानी बन्नुपर्छ ।’
नेकपा (माओबादी केन्द्र) का प्रभावशाली नेता समेत रहेका खनालले प्रदेश राजधानीको माग शान्तिपूर्ण तरिकाबाट गर्न आग्रह गरे । ‘दाङका महराजीहरुले प्रदेश राजधानी नभए आठौं प्रदेश टुक्राएर भएपनि राजधानी बनाउने घोषणा गनुभएको छ, बुटबलका विष्णुजीहरुले प्रदेश राजधानी नभए सडक तताउने घोषणा गर्दै हुनुहुन्छ उनले भने, “हामी भन्छौ त्यसो भए शान्तिपूर्ण र विवाद रहित रुपले कपिलवस्तुलाई प्रदेश राजधानी स्विकारौँ ।”
कपिलवस्तु खुल्ला संग्राहालय भएकोले प्रदेश राजधानी बन्नुपर्ने उनले धारणा राखे । साथै उनले सबैको विच सेन्टर कपिलवस्तु नै पर्ने दाबी गरे । ‘गुल्मिको खड्ककोट देखी बर्दियाको चिसापानी सम्मका जनताको पायक पर्ने ठाउँ नै कपिलवस्तु हो ।’
प्रदेश राजधानी बनाएरै छाड्ने उद्घोष गरेका उनले पूर्वाधारलाई आधार मानेर प्रदेश राजधानी घोषणा गर्न नहुने तर्क राखे । ‘प्रदेश राजधानी पुराना भौतीक संरचना हेरेर बनाइनु हुँदैन उनले भने, ‘प्रदेश राजधानी नयाँ र आधुनिक शहर निर्माण गरे पछि मात्र बनाइनुपर्छ । ’
उक्त कार्यक्रममा बोल्दै प्रतिनिधिसभा २ का सांसद तथा पूवमन्त्री बृजेश कुमार गुप्ताले प्रदेश राजधानी बृद्धजन्मस्थल कपिलवस्तुमै हुनुपर्ने जिकिर गरे । प्रदेश राजधानीको लागि आफुले पनि सकेको पहल गरिरहेको भन्दै बामगठबन्धनका केन्द्रीय स्तरका नेताले यस विषयमा झन बढी लविङ गर्नुपर्ने बताए ।






प्रतिक्रिया