६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

सवारी कारबाहीबाट डेढ करोड बढी राजश्व असुली



सीताराम चौधरी, चन्द्रौटा, ९ साउन ।
सवारी कारबाहीबाट कपिलवस्तुमा यसवर्ष १ करोड ५६ लाख ४५ हजार ५सय रुपैयाँ राजश्व संकलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले आर्थिक वर्ष २०७३।०७४ को साउनदेखि असारसम्म कूल २६हजार ५सय १३ सवारी कारवाहीबाट सो राजश्व संकलन गरेको हो । आर्थिक वर्ष ०७२÷७३ को २४ हजार ५सय ७० सवारी कारवाहीबाट ट्राफिकले ९८ लाख ९५ हजार ९सय रुपैयाँ राजस्व असुली गरेका थियो । गतवर्षको दाँजोमा यसवर्ष ट्राफिकले ५७ लाख ४९ हजार ६सय रुपैयाँ बढी राजश्व संकलन गर्न सफल भएको ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो । यसवर्ष ट्राफिक नियम उलंघन गर्ने सवारी संख्यामा १९सय ४३ बढी भएको कार्कीले बताउनुभयो ।
यसवर्ष सवारी कारबाहीमा सबैभन्दा बढी ट्रक परेका छन् । वर्षभरि कूल १८हजार ६सय २५ ट्रक कारबाही हुँदा १ करोड १० लाख ६५ हजार ५सय रुपैयाँ राजश्व उठेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले जनाउनुभयो । यसपछि कारबाहीमा परेका सवारीमध्ये मोटरसाइकल दोस्रो नम्बरमा परेको छ । वर्षभरिमा ३हजार ६सय ६ वटा त मोटरसाइकल मात्र कारबाहीमा परेका छन् । जसबाट १९लाख ९९ हजार राजश्व संकलन भएको ट्राफिकले बताएको छ ।
यसैगरी १हजार ४सय ७८ वटा बस कारबाही हुँदा ८ लाख ६६ हजार राजश्व उठेको छ भने कारबाहीमा परेका जीप संख्या १हजार ५सय ८० रहेको छ । जसबाट ८लाख ५५ हजार ५सय राजश्व असुली भएको बताइएको छ । यसका साथै १हजार ४सय २४ वटा ट्याक्टर कारबाही हुँदा ८लाख ६९ हजार ५सय राजश्व संकलन भएको ट्राफिकले जानकारी दिएको छ । नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
यता आर्थिक वर्ष २०७३।०७४ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३१ जना कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । जसबाट ट्राफिकले ३१ हजार राजश्व असुली गरेको छ । गतवर्ष समेत ट्राफिकले ३१ जनालई मापसे कारबाही गर्दा ३१ हजार रकम असुली गरेको थियो ।

 

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  २ : २४ बजे