१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

महाधिवेशन मिति घोषणा नगरेपछि युवा संघमा खैलाबैला !



काठमाडौं, साउन ११ ।
नेकपा एमाले निकट युवा संघ नेपालको साउन ७ र ८ गते बसेको स्थायी कमिटी बैठकले नवौं महाधिवेशनको मिति तोक्न नसकेपछि युवाहरु आक्रोशित बनेका छन् ।
४० वर्ष उमेर कटेकालाई ‘अंकल आन्टी’ को संज्ञा दिँदै युवाहरुले उनीहरुले आफ्नो भविष्यमाथि खेलवाड गरिरहेको आरोप समेत लगाएका छन् । युवाहरुले नैतिकताको ख्याल गरी राजीनामा दिन वा ५ वर्षसम्म नगरेको महाधिवेशन गर्न ४० कटेका अगुवाईहरुलाई अनुरोध पनि गरेका छन् ।
यहीबीचमा संघमा आबद्ध युवाहरुले मंगलबार केन्द्रीय कार्यालय प्रमुख एवं स्थायी कमिटी सदस्य प्रभातविक्रम कटवाललाई महाधिवेशन तत्काल घोषणा गर्न माग गर्दै प्लेकार्ड बुझाएका छन् । युवा नेता रोशन बस्नेतको नेतृत्वमा केन्द्रीय कार्यालय बुद्धनगर पुगेको टोलीले ‘महाधिवेशन छिटो गर !’ भन्ने नारा लेखिएको प्लेकार्ड कार्यालय प्रमुख कटवाललाई बुझाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको हो ।
उनीहरुले ‘बगेको खोला फर्कदैन, समयले कसैलाई पर्खदैन’ युवा संघ नेपालको कार्यालयमा कार्यालय प्रमुखमार्फत सबै पदाधिकारीहरुलाई ध्यान आकर्षण गराएका छन् । उनीहरुले नेतृत्वलाई ‘ढिलो गरी बसेको स्थायी कमिटी किन अनिर्णयको बन्दी बन्दै छ’ भनेर प्रश्न समेत गरेका छन् ।
संगठन विभाग प्रमुख महेन्द्र पाण्डेको नेतृत्वमा बसेको संघको स्थायी कमिटी बैठकले महाधिवेशन मिति तोक्न अध्यक्ष राजीव पहारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । रमेश पौडेल, किरण पौडेल, नरेश शाही र हर्ष शाही सदस्य रहेको समितिलाई सोमबारभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको थियो । त्यसैका आधारमा स्थायी कमिटीले महाधिवेशनको मिति घोषणा गर्ने भनिएपनि आज बुधबार भइसक्दा मिति घोषणा हुन सकेको छैन ।

निर्माण सञ्चारमा समाचार छ ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ४ : ५३ बजे