१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतबाट चेलीको उद्धार



सीताराम चौधरी, कृष्णनगर, १४ साउन ।
मोटो रकम कमाउने चक्करमा भारतको दिल्ली पुगेकी एक नेपाली किशोरीको उद्धार गरिएको छ । कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले भारतको दिल्लीबाट किशोरीको उद्धार गरेको हो ।
उद्धार गरिएकी किशोरी स्याङ्जाको पुतली बजार घर भई हाल तनहुँ दुलेगौंडा बस्दै आएकी २४ वर्षीय सपना (नाम परिवर्तन) हुन् । उनलाई हेल्पप्रस देहरादूनको सहयोगमा दिल्लीको एक होटलबाट उद्धार गरी नेपाल फर्काएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिए । दिल्लीको पहाडगञ्जस्थित स्वीट ड्रिम इन होटलमा एक महिनादेखि नजरबन्दमा राखिएकी सपनालाई पीआरसीले उद्धार गरी नेपाल फर्काएको हो । किशोरीलाई होटलभित्रै नजरबन्दमा राख्ने होटल संचालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ ।
बाग्लुङ कुस्माकी ४४ वर्षीय सविना शेख नामकी मुस्लिम महिलाले सिंगापुर पठाउने भन्दै किशोरीलाई एक महिनाअघि भारतको दिल्ली पु¥याएकी थिइन् । विचौलियालाई ४ लाख रकम समेत बुझाएको किशोरीले बताएकी छन् । आफूलाई होटलभित्रै नजरबन्द गरी राखेपछि किशोरीले इन्टरनेटमार्फत कतार बस्ने आफ्नो फुपाजुलाई जानकारी दिएको बताइन् । किशोरीकै फुपाजुले मानवअधिकारकर्मी देवेन्द्र भट्टराईलाई किशोरीको बारेमा बताएका थिए । देवेन्द्रबाट पाएको सूचनाका आधारमा पीआरसी संयोजक भूमिराज भट्टराई र नानुमाया भट्टराई किशोरीलाई उद्धार गर्न भारतको दिल्ली पुगेका थिए । भारतको देहरादूनस्थित हेल्पप्रस नामक संस्थाका संयोजक विशाल थापाको सहयोग लिई किशोरीको उद्धार गर्न सफल भएको पीआरसी संयोजक भट्टराईले बताए ।
उद्धार गरिएकी किशोरीलाई विहीबार साँझ नेपाल ल्याई पु¥याएको भट्टराईले बताए । किशोरीलाई अहिले शान्ति पुनस्र्थापना गृहको कृष्णनगरस्थित पुनस्र्थापना केन्द्रमा राखिएको उनले जानकारी दिए । कक्षा १२ सम्म पढेकी किशोरी आमा गुमाइसकेकी छन् । उनको आमाको मृत्युपछि बुवाले सौतेनी भित्र्याएको उनी बताउँछिन् । सौतेनी आमाको यातना सहन नसकी उनी कामको खोजीमा विदेशिन लागेको बुझिएको छ ।
किशोरीसँगै विचौलियाले अर्की एक महिलालाई समेत भारत लगेको किशोरीले बताएकी छन् । तर आफूलाई होटलमा नजरबन्द गरेपछि आफ्नो भेट नभएको किशोरीको भनाईलाई उदृत गर्दै पीआरसी संयोजक भट्टराईले बताए । विचौलिया विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराई विशेष खोज अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ५ : ०३ बजे