३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

हेलचेक्र्याइँबाट कानको समस्या बढ्दो



लहान, साउन १४ गते ।

जनचेतनाको अभाव र पुरानो सोचमा परिवर्तन आउन नसक्दा सिरहा र सप्तरीलगायत तराईका जिल्लामा कानको समस्या जटिल बन्दै गएको छ ।

बालबालिकालाई जथाभावी कानमा तेल तथा औषधिका नाममा विभिन्न बोटबिरुवाको दूध हाल्ने, कान कोट्याइदिने र आमाले सुतेर दूध खुवाउनेजस्ता कारणले कानको समस्या जटिल बन्दै गएको हो । सोबाहेक बढ्दो ध्वनि प्रदूषण र पोखरीमा नुहाउने प्रवृत्तिका कारणले पनि कानका बिरामी दिनप्रतिदिन बढ्दै गएको चिकित्सक बताउँछन् ।

सिरहा नगरपालिका–९ स्थित बहिरा बाल विद्यालय, कान उपचार केन्द्रका चिकित्सक सुरेशकुमार यादव पुरानो संस्कार र जनचेतनाको अभावका कारण कानको समस्या बढ्दै गएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बच्चा सानो छँदा आमा वा हजुरआमालगायतले बच्चाको कानमा तेल हालिदिने, औषधिका रुपमा बकाइनलगायतका जातको बिरुवाको दूध कानमा हालिदिने र आमाले सुतेरै बच्चालाई दूध खुवाउने जस्ता कारणले पछि कान बिग्रिने गरेका छन् ।” जनचेतनाको आभावमा हुने हेलचेक्र्याइँका कारण पछि कान नै बहिरो हुने गरेको उहाँको कथन छ ।

कान उपचार केन्द्रमा अचेल बढ्दै गएको घुइँचोले पनि तराईका जिल्लामा कानको समस्या विकराल बन्दै गएको प्रष्ट भएको चिकित्सक यादव बताउनुहुन्छ । सिरहा नगरपालिका–९ मा स्थापित केन्द्रमा अहिले दैनिक २०० सम्म कानका बिरामी उपचारका लागि आउने केन्द्रका प्रशासन प्रमुख विपीनकुमार यादवले बताउनुभयो ।

उपचारका क्रममा २५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा कानको समस्या बढी पाइएको चिकित्सक यादवको भनाइ छ । उहाँका अनुसार अस्पतालमा कान पाक्ने, कम सुन्ने, चिलाउनेजस्ता समस्याबाट पीडित बढी आउने गरेका छन् ।

इम्प्याक्ट नेपालको सहयोगमा २०६२ सालदेखि कानको उपचार शुरु गरेको केन्द्रले एक दशकमा दुई लाख एक हजार ६५६ कानका बिरामीको उपचार गरेको छ । बहिरा संघ सिरहाद्वारा २०५१ स्थापित बहिरा विद्यालयले पछि २०६२ सालदेखि कानको उपचार शुरु गरेको थियो । केन्द्रका प्रशासन प्रमुख यादवका अनुसार कानको उपचार शुल्क रु ५० र जाँच शुल्क रु २५० मात्र निर्धारण गरिएको छ ।

थोरै उपचार शुल्कमा राम्रो र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने गरेकाले सिरहासहित छिमेकी जिल्ला सप्तरी, उदयपुर, महोत्तरी, सिन्धुली र भारतका विभिन्न स्थानबाट कानका बिरामी उपचारका लागि आउने गरेको केन्द्रका प्रशासन प्रमुख यादवको भनाइ छ ।

यस्तै लहानस्थित कान उपचार केन्द्रमा पनि कानका बिरामीको चाप बढेको छ । केन्द्रमा दैनिक १५० देखि २०० सम्म कानका बिरामी उपचारका लागि आउने गरेको केन्द्र, लहानले जनाएको छ । रासस

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  ६ : ०८ बजे