१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सूचनाको हक सम्बन्धी तौलिहवामा अन्तरक्रिया



शान्ता परियार, कपिलवस्तु, १५ साउन ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा सूचनाको हक सम्बन्धी अन्तरकृया कार्यक्रम तौलिहवा स्थित शाखाको भवनमा सम्पन्न भएको छ ।

जिल्लाका संचारकर्मीको सहभागिता रहेको उक्त कार्यक्रममा सरकारी कार्यालयहरु संचारमैत्री हुनुपर्नेमा सुझाव दिएका थिए । कार्यक्रममा सूचनाको हक सम्बन्धी ऐन २०६४, सूचनाका हकका सिमा, सार्वजनिक निकाय र यसका दायित्व, सूचनाको अद्यावधि र प्रकाशन गर्नुपर्ने लगाएतका विषयमा छलफल गरिएको थियो ।

जिल्लामा ग्रामिण भेगका नागरिक संग सूचनाको हकबारे जानकारी नहुँदा धेरै कुराहरु थाहा नपाउने भएकाले सूसुचित गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुकी उपाध्यक्ष पार्वती पाण्डे, पत्रकार बसन्त बन्जाडे, ओरीराम चौरसिया लगायतले सेवा प्रदायक निकायहरुले सरल र सहज तरिकाबाट नागरिकलाई सूचना प्रवाह गर्नुपर्ने बताएका थिए ।

कार्यक्रम शाखाका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता तथा सचिव हरि अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  १२ : २२ बजे