कपिलवस्तु । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सामुदायिक वनसँगको सहकार्यबाट नगरपालिकाको समृद्धि सम्भव हुने बताएका छन्। उनले सामुदायिक वनको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्दै पर्यापर्यटनको विकासमार्फत समृद्धि हासिल गर्न सकिने बताए।
बुधबार श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले वन क्षेत्रलाई केवल काठ तथा दाउराको स्रोतका रूपमा मात्र नभई सौन्दर्यकरण, पर्यटन, वातावरण संरक्षण, सामुदायिक विकास र सेवा र स्थानीय आर्थिक विकासमा महत्वपूर्ण टेवा पुगेको बताए।
सामुदायिक वनको संरक्षणमा उपभोक्ताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले वन क्षेत्रभित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने बताए।
नगरप्रमुख अर्यालले प्रदेश सरकारले आफ्ना मातहतका वनबाट करोडौँ रुपैयाँ राजस्व उठाए पनि स्थानीय तहले पाउनुपर्ने १० प्रतिशत राजस्व हालसम्म नपाएको गुनासो गरे। उनले कानुनी तथा नीतिगत व्यवस्थालाई प्रदेश सरकारले कार्यान्वयन नगरेको आरोप लगाउँदै लुम्बिनी प्रदेशमा अन्य प्रदेशमा नभएको प्रावधान लागू गरिएको बताए। उनका अनुसार सामुदायिक वनले काठ बिक्रीबाट प्राप्त हुने राजस्वको २५ प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्ने व्यवस्था छ। उक्त रकममध्ये १० प्रतिशत सम्बन्धित स्थानीय तहलाई फिर्ता गर्ने कानुनी प्रावधान भए पनि लुम्बिनी प्रदेश सरकारले हालसम्म कार्यान्वयन नगरेको उनको भनाइ छ।
यस्तै, वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष रेणु सेनले सामुदायिक वनको दिगो व्यवस्थापनका लागि उपभोक्ताको सक्रिय सहभागिता र वैज्ञानिक योजना आवश्यक रहेको बताइन्। वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासलाई जोडेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनले वन संरक्षणसँगै उपभोक्ताको जीवनस्तर उकास्ने तथा सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। प्राविधिक तथा प्रशासनिक दायराभित्र रहेर वनको दिगो व्यवस्थापन गर्न डिभिजन वन कार्यालय सदैव सहयोग गर्न तयार रहेको उनले बताए। यस समुहले श्रोतलाई बनको संरक्षण संगै बहुआयामिक काममा लगानी गरेर समुदायमा प्रवर्धनात्मक र सिर्जनात्मक कार्य गरेकोमा प्रशंसा समेत गरे । पछिल्लो समय बजेट बढेसँगै वनको खर्चमा पारदर्शिता कायम गर्नु मुख्य चुनौती बनेको उल्लेख गर्दै सापकोटाले आमउपभोक्ता र वन उपभोक्ता समिति थप जिम्मेवार बन्नुपर्ने बताए।
मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारीले सामुदायिक वनले वन संरक्षण, वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताए। यस बनले पर्यापर्यटनमा महात्वाकांक्षी योजना निर्माण गरेकाले यसको कार्यान्वयनमा सवैले सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएका छने । बनको पर्यापर्यटनको डिपिआर तयार गरेर समग्र विकासमा महत्वपूर्ण टेवा दिने लक्ष्यकासाथ सामुदायिक बन अघि बढेको र उक्त लक्ष्य हासिल गर्ने तर्फ केन्द्रीत हुन समेत आग्रह गरे ।
सभामा बोल्ने वक्ताहरूले श्रृङ्गीघाट सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक क्षेत्रमा गरेका कार्य प्रशंसनीय रहेको बताए। उनीहरूले वनसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

समूहका अध्यक्ष गणेशबहादुर सिंह ठकुरी ‘सुशील’ले श्रृङ्गीघाट सामुदायिक वन क्षेत्र तथा कपिलवस्तु र छिमेकी जिल्लामा रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्भावनालाई संरक्षण गर्दै पर्यापर्यटन विकास गर्ने ठूलो सम्भावना रहेको बताए।
उनका अनुसार समूहको कार्यालयमा होमस्टे सञ्चालन गरी जिप सफारीमार्फत सुपादेउराली मन्दिर, पिपरा, कैलाश आश्रम, विक्रम पावरा, सूर्य ओडार, बैकुण्ठधाम, मधुवनधाम, कपिलधाम, रामदत्तिवन, बुद्धभूमि नगरपालिकाका ढेकरी र रामघाट हुँदै कपिलवस्तु नगरपालिकाका कुदान, तौलेश्वरनाथ मन्दिर, तिलौराकोट, सग्राहवा, जगदीशपुर ताल तथा बाणगंगा नगरपालिकाका लक्ष्मणघाट, राजापानी र मधौलिया पार्कलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई वनसँग जोड्ने योजना अघि सारिएको छ।
पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग, विश्रामस्थल, प्रचारप्रसारका लागि सूचना केन्द्र तथा सूचना बोर्ड निर्माण गर्नुका साथै आवश्यक पूर्वाधार विकास गर्ने योजना रहेको अध्यक्ष सिंहले बताए। पर्यापर्यटनको विकासबाट वन संरक्षणसँगै स्थानीय रोजगारी, व्यवसाय र आयआर्जनका अवसर सिर्जना गर्ने समूहको लक्ष्य रहेको उनको भनाइ छ।
अध्यक्ष सिंहले लक्ष्मणघाट र देउघाट दाहसंस्कार स्थलको व्यवस्थापनलाई समेत निरन्तरता दिइने बताए।उनले गतवर्ष समुहले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटन, सामुदायिक विकासमा उल्लेखनीय कार्य गरेको र आउने वर्षको निती र कार्यक्रम मार्फत अझ प्रभावकारी कार्य गर्दै यसक्षेत्रको बृहत्तर विकासका लागि साझेदारी अवधारणामा अघि बढ्ने नयाँ योजना सुनाए ।
साधारणसभामा अध्यक्ष सिंहले वार्षिक प्रतिवेदन, सचिव सुस्मा खाँणले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बिना रानाले आर्थिक प्रतिवेदन र लेखा संयोजक गुरुदेव पौडेलले लेखा समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका छन्।
उपाध्यक्ष बुद्धबहादुर शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुस्मा खाँणले गरेकी थिइन्। साधारणसभाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ९ करोड ८४ लाख ९८ हजार ५ सय ९४ रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
श्रृङ्गीघाट सामुदायिक वनले बाणगंगा नगरपालिकाका वडा नम्बर १, ३, ४ र ५ लाई समेटेको छ। वन क्षेत्र १४ वटा मौजामा फैलिएको छ। कार्यक्रममा समूहका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार र वनका उपभोक्तालगायतको सहभागिता रहेको थियो।









प्रतिक्रिया