१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

कांग्रेस कपिलवस्तु संस्थापन इतरकाे भेला ः १५ औं महाधिवेशन एकताको महाधिवेशनमा जोड 


१ आश्विन २०८३ बिहिबार ००:००  

10
Shares

तौलिहवा । नेपाली कांग्रेस कपिलवस्तुमा १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्नेमा कांग्रेस कपिलवस्तु संस्थापन इतरका नेताहरुले जोड दिएका छन्। कांग्रेस संस्थापन इतरका नेताहरुले जिल्ला नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै जिल्ला, क्षेत्र तथा पालिका तहका केही नेता–कार्यकर्ताले आगामी महाधिवेशनलाई ‘एकताको महाधिवेशन’का रूपमा अघि बढाउन माग गरेका छन्।

कपिलवस्तुको होटल शंकरमा वुधबार आयोजित पत्रकार सम्मेलनमा ‘एकताको महाधिवेशन पक्षधर समूह’ले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई विधान, विधि र आन्तरिक लोकतन्त्रको मूल्यमान्यताअनुसार सञ्चालन गर्न माग गरेको छ ।

समूहले नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिले पार्टी विधान तथा केन्द्रीय परिपत्रको मर्मविपरीत विभिन्न निर्णय तथा गतिविधि गर्दै आएको आरोप समेत लगाएको छ। विगतको निर्वाचनमा क्षेत्रीय कार्यसमितिले विधान र केन्द्रीय परिपत्रअनुसार सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारलाई बेवास्ता गर्दै केन्द्रबाट टिकट वितरण गरिएको नेताहरुले आरोप लगाएका छन्।

स्थानीय तहमा लामो समयदेखि पार्टीका लागि काम गर्दै आएका नेता–कार्यकर्ता तथा स्थानीय मतदाताको भावनालाई बेवास्ता गर्दा त्यसको असर पार्टी संगठनमा परेको समूहको दाबी छ।

संयुक्त विज्ञप्तिमा पछिल्ला केही वर्षमा करिब सात सयभन्दा बढी नेता–कार्यकर्तामाथि स्पष्टीकरण तथा कारबाहीको प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ। कारबाहीको प्रक्रियामा सम्बन्धित नेता–कार्यकर्तालाई आफ्नो धारणा राख्ने पर्याप्त अवसरसमेत नदिइएको समूहको आरोप छ।

त्यस्तै, क्षेत्रीय तथा इकाइ तहका निर्वाचित सभापतिहरूलाई व्यक्तिगत वा गुटगत स्वार्थका आधारमा हटाउने तथा पदमा फेरबदल गर्ने गरिएको आरोप पनि समूहले लगाएको छ। यस्तो अभ्यासले पार्टीको आन्तरिक लोकतन्त्र र सांगठनिक एकतामा असर पार्ने उनीहरूको भनाइ छ।

समूहले १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विवादरहित बनाउन तल्लो तहबाट भएका वैधानिक सिफारिसको सम्मान गर्नुपर्ने माग गरेको छ। असन्तुष्ट तथा विभेदमा परेको महसुस गरेका नेता–कार्यकर्तालाई सांगठनिक प्रक्रियामा समेट्न, निर्वाचित पदाधिकारीको अनधिकृत फेरबदल रोक्न तथा महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराइएको छ।

आफ्ना माग सम्बोधन नभए आगामी १५औँ महाधिवेशनका कार्यक्रम बहिष्कार गर्न बाध्य हुने चेतावनीसमेत समूहले दिएको छ। त्यसबाट उत्पन्न हुने सम्भावित सांगठनिक क्षतिको जिम्मेवारी वर्तमान जिल्ला नेतृत्वले लिनुपर्ने उनीहरूको भनाइ छ।

पत्रकार सम्मेलनमा सहभागी नेताहरूले पार्टीभित्र व्यक्तिको प्रभावभन्दा विधि, विधान र कार्यकर्ताको सहभागितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले आगामी महाधिवेशनलाई गुटगत प्रतिस्पर्धाभन्दा माथि उठाएर सबै पक्षको सहभागिता र सहमतिमा सम्पन्न गर्नुपर्ने बताएका छन्।

पत्रकार सम्मेलन तथा संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिका सहसचिव मो. वजीह अरसद, क्षेत्र नं. १ का सभापति अब्दुल मन्नान खान, क्षेत्र नं. १ ‘क’का प्रदेश सदस्य उम्मेदवार डोलकराम घिमिरे, क्षेत्रीय प्रदेश सभापति दुर्गा बहादुर केसी, कपिलवस्तु नगरपालिका सभापति खुर्शिद अहमद खाँ, जिल्ला कार्यसमिति सदस्य हरि राज घिमिरे र कमल राज आचार्य, सुद्धोधन गाउँपालिका सभापति विश्वम्भर प्रसाद कुर्मी  तथा मायादेवी गाउँपालिका सभापति शालेंद्र दिबेदी लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कांग्रेस नेताहरुले असन्तुष्टिलाई समयमै सम्बोधन गर्दै १५ औं महाधिवेशनलाई सबै पक्षको सहभागिता, सहमति र विधिसम्मत प्रक्रियाबाट अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : १ आश्विन २०८३ बिहिबार ००:००  ७ : ०८ बजे