१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दलीय गठबन्ध बनाएर माओबादी चुनाव लड्छ : प्रचण्ड



महोत्तरी, १६ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ को स्थानीय निकायको चुनावमा मधेश केन्द्रीत दलसँग माओवादी केन्द्रले दलीय गठबन्ध बनाएर चुनाव लड्ने बताउनुभएको छ ।
चुनावी तयारीको प्रशिक्षणका लागि जनकपुर जाने क्रममा सोमबार बिहान महोत्तरीको बर्दिबासमा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
दोस्रो चरणको चुनावमा कांग्रेससँग माओवादीले गरेको गठबन्धन भने तेस्रो चरणमा कांग्रेससँग मात्रै सीमित नहुने उनले स्पाष्ट पार्नुभयो । तेस्रो चरणको चुनावमा राजपालाई सहभागी गराउनु पर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो । उहाँले भन्नुभयो ‘राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ । राजपासहितको चुनाव गराउनमा हाम्रो शक्ति केन्द्रीत छ । एमालेविना पनि संविधान संशोधनको लागि दुई तिहाई संख्या पुग्छ । हाम्रो शक्ति संविधान संशोधन र चुनावमा केन्द्रीत छ ।’ संविधान संशोधन भयो भने देशमा राजनीतिक संक्रमणकाल अन्त्य हुनेमा उहाँले विश्वास गर्नुभयो ।
प्रदेश नम्बर २ मा अझै पनि स्थानीय निकायको संख्या बढ्न सक्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गर्नुभयो । ‘साउन १७ गते यदि अदालतले सरकारको निर्णय कार्यान्वयन गर्न फुकुवा गरिदियो भने स्थानीय निकायको संख्या प्रदेश नम्बर २ मा बढ्न सक्छ । संख्या बढ्यो भने राजपाको माग सम्बोधन हुन्छ । स्थानीय तहको नक्सा मिलाउने कुरा हो मिलाइन्छ यसका कुनै समस्या हुँदैन’ उहाँले भन्नुभयो ।
प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्नको लागि राजनीतिक दलहरु सकारात्मक रहेको अध्यक्ष प्रचण्डले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनितिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्ने बिषयमा तयार छन् । निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाई हुने देखाई रहेको छ । एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गर्न अझै पनि हामी कसरत गरिरहेका छौं ।’ केन्द्र र प्रदेशको चुनावको तयारी अन्तिक चरणमा पुगेको उहाँले जानकारी गराउनुभयो ।
पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश, माओवादी केन्द्रका महासचिव रामबहादुर थापा बादल लगायतका केन्द्रीय स्तरका नेता चुनावी प्रशिक्षण दिन जनकपुरतर्फ लागेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  १० : ४० बजे