३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

कपिलबस्तुमा झण्डै ६ हजार नया मतदाता थपिए



अजय वर्मा श्रावण १७ ।
कपिलबस्तुमा हालसम्म झण्डै ६ हजार नयां मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकाममा रहेको निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन भएकोमा कार्यालय पुगेर झण्डै ६ हजारले नाम अद्यावधिक गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागी मतदाता नामावली संकलन गर्दा छुटेका तथा परिचयपत्र नपाएकाहरुले यहि साउन १ गते देखि पुनः नामावली दर्ता सुरु गरिएको हो । जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका अनुसार आज बिहान सम्ममा ५ हजार ५ सय ६२ जनाले नाम दर्ता गराएका छन् । दर्ता गराउनेमा २ हजार ३६४ महिला र ३ हजार २०८ पुरुष छन् ।

नामावली दर्ता गराउनेहरुको भीड अझै कायमै रहेको छ । यो भन्दा पहिले जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट मात्रै नामावली संकलन हुँदै आएको थियो । जिल्लाका सबै १० वटै स्थानीय तहबाटै फोटो सहितको मतदाता नामावली संकलन समेत शुरु भएको छ ।

विदेशमा रहेका कारण यसअघि मतदाता नामावलीमा नाम समावेश नगराएका, उमेर पुगेका, विविध कारणले छुटेकाहरुले यसपटक आफ्नो नाम लेखाउन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सोहि निर्णय बमोजिम कपिलवस्तुका दश वटै स्थानीय तहबाट फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य शुरु भएको जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी गराउनुभएको छ ।

जिल्लामा कपिलवस्तु नगरपालिकाको तौलिहवा, वाणगंगा नगरपालिकाको गजेहडा, बुद्धभुमि नगरपालिकाको बुढ्ढी, शिवराज नगरपालिकाको चन्द्रौटा, कृष्णनगर नगरपालिकाको कृष्णनगर, महाराजगंज नगरपालिकाको महाराजगंजमा मतदाता नामवली संकलन भइरहेकोे जिल्ला निर्वाचन कार्यालयका प्रमुख घिमिरेले जनाउनुभयो ।

यस्तै विजयनगर गाउपालिकाको कार्यालयको खुरहुरिया, यशोधरा गाउँपालिकाको बैदौली, मायादेवी गाउपालिकाको पकडी, शुद्धोधन गाउपालिकाको लवनीमा फोटो सहितको मतदाता नामावली दर्ता गराउन सकिने ब्यबस्था गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  १ : ५५ बजे