११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

रुपन्देहीबाट यस वर्ष १ सय ३५ जना हजयात्री मक्का मदिना जाने



लुम्बिनी, १८ साउन ।
रुपन्देही जिल्लाबाट यस वर्ष मुस्लिम समुदायका १३५ जना हज गर्नका लागि साउदी अरेबियाको मक्का मदिना जाने भएका छन् ।
हज गर्नका लागि मक्का मदिना जान यस जिल्लाबाट ३१५ जनाले केन्द्रीय हज समितिमा आवेदन गरेका थिए तर कोटा अभावका कारण यो वर्ष १३५ जनाले मात्र हज गर्न मक्का मदिना जान पाउने भएका छन् । तीमध्ये गत वर्ष निवेदन दिएका ८२ जना र यस वर्षका ५३ जना छन् ।
हज यात्राका लागि अरब सरकारले नेपाललाई एक हजार २०० कोटा दिएको छ । त्यसका लागि देशभरबाट एक हजार ९१६ जनाले आवेदन दिएका थिए । जसमध्ये ६१५ जना गत वर्ष छनोटमा नपरेकाले यस वर्ष पहिलो प्रथमिकतामा जाँदैछन, कोटाभन्दा बढी आवेदन परेकाले केन्द्रीय हज समितिबाट गठित कार्य सम्पादन उपसमितिले जनसङ्ख्या, उमेर, रकम पेश्की भौचर र आवेदन मितिको आधारबाट हजयात्रामा जानेको नाम छनोट गरेको मुस्लिम वेलफेयर सोसाइटी हज व्यवस्थापन उपसमितिका अध्यक्ष अब्दुल रहमान खाँनले बताउनुभयो ।

हज यात्रामा जानेहरुका लागि हवाई भाडा, होटल भाडा तथा अन्य धार्मिक कार्यका लागि केन्द्रीय हज कमिटीले प्रतिव्यक्ति रु एक लाख ९० हजार अनुमानित खर्च लाग्ने आँकलन गर्दै हजका लागि आवेदन दिएका सबैलाई असार ५ गते नै जम्मा गराइसकेको छ । जान नपाएका निवेदकको राहदानी तथा जम्मा गरेका रकम यथाशीघ्र फिर्ता गरिने र आगामी वर्षको हजयात्रामा पहिलो प्राथमिकतामा राखिने केन्द्रीय हज कमिटी सचिवालयले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ६ : ५३ बजे