८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भरतपुर महानगर पछिल्लो परिणाम देवीसँगको रेणुको मतअन्तर घट्दै



चितवन, साउन २१  ।

भरतपुर महानगरपालिका वडा नं १९ को फेरि मतदान भएपछि अहिले मतगणना भइरहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को १६ सय मत गनिसक्दा एमालेका देवी ज्ञवालीले ४१ हजार पाँच सय ७३ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गर्नु भएको छ । दाहालले वडा नम्बर १९ मा ज्ञवालीले भन्दा धेरै मत पाएर उहाँसँगको दूरी कम गर्नुभएको छ ।
पछिल्लो मत परिणाम
देवी ज्ञवाली–४१५७३रेणु दाहाल–४१०३१
पछिल्लो मतपरिणाम अनुसार वडा नम्बर १९ मा रेणु दाहालले अग्रता लिनुभएको छ । तर समग्रमा भने देवी ज्ञवालीको अग्रता कायम नै छ । १९ नम्वर वडाको मत गनेर २० नम्वर वडाको सुरु गर्ने तयारी छ । अब वडा नम्बर १९ को १२ सय ७० र वडा नम्बर २० को ३३ सय १८ मत गन्न बाँकी छ ।
पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राति माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतपत्र च्यातिएसँगै रोकिएको वडा नं १९ को मतगणना फेरि मतदानपछि सुरु गरिएको हो । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  १ : ३० बजे