८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

निर्वाचनमा सहभागी हुन राजपा भित्र दबाब



काठमाडौँ, साउन २१ गते । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालभित्र स्थानीय तहको चुनावमा सहभागी हुन दबाब परेको छ । बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा तीन दिनसम्म चलेको पदाधिकारी बैठकले चुनावमा जान दबाब दिएको छ । बैठक शुक्रबार नै सम्पन्न हुनुपर्ने भए पनि बोल्ने क्रम बाँकी रहेकाले शनिबारसम्म लम्बिने बताइएको छ । चुनावमा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र मतविभाजन भएको छ । अधिकाँशले चुनावमा जानुपर्छ भन्ने धारणा राखेका छन् भने चुनावमा जानु हुँदैन भनी कडा रूपमा प्रस्तुत हुनेहरू पनि छन् ।
राजपा नेपालको ८१५ जनाको केन्द्रीय कार्यसमितिमा १३३ जना पदाधिकारी छन् । बैठकमा ८५ जनाको उपस्थिति छ । शुक्रबारसम्ममा ७४ जनाले आ–आफ्नो धारणा राखिसकेका छन् । धारणा राख्ने अधिकांश पदाधिकारीहरूले पार्टी नेतृत्वलाई चुनावमा जान सुझाव दिएका छन् । पार्टीका महासचिव केशव झाले चुनावमा नै जानुपर्छ भनी धारणा व्यक्त गर्ने पदाधिकारीहरूको सङ्ख्या बढी रहेको बताउनुभयो । उहाँले सधैँ आन्दोलन गर्न नहुने र लोकतन्त्रमा चुनाव बहिष्कार पनि गर्न नहुने तर्क बैठकमा राख्नुभएको थियो । चुनावमा सहभागी नभए राजपा नेपालमा रहेका कार्यकर्ताहरू अन्य दलमा जाने सम्भावना भएकाले सङ्गठन जोगाउन भए पनि चुनावमा सहभागी हुनुपर्ने धारणा पार्टीका महासचिव जङ्गीलाल राय यादवले राख्नुभयो ।
उपाध्यक्ष मृगेन्द्रसिंह यादवले राजपा नेपाल चुनावमा सहभागी हुँदा पनि घाटा, नहुँदा पनि घाटा भन्ने तर्क गर्दै राजपा नेपाल चु्नावमा गएन भने कार्यकर्ता भाग्ने डर भएको र चुनावमा गयो भने मुद्दा समाप्त हुने खतरा भएकोले निकै सोचविचार गरेर निर्णय लिनुपर्ने सुझाव दिनुभयो ।
महासचिव अजय गुप्ताले चुनाव बहिष्कार गर्ने अवस्थामा राजपा नेपाल नभएको बताउँदै स्थानीय तहको निर्वाचनमा सहभागी हुनु उपयुक्त हुने सुझाव दिनुभएको बैठकमा सहभागी सहसचिव जेपी यादवले बताउनुभयो । विधान, सङ्गठन, पदाधिकारीको मर्यादाक्रमलगायतमा असन्तुष्टि जनाउँदै पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र महासचिव वृजेश गुप्ताले बैठक बहिष्कार गर्नुभएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  १ : ३८ बजे