१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

डा. केसी अनसनको १३ दिन : सरकारलाई दबाब दिन बानेश्वरमा र्‍याली



काठमाडौं, साउन २१  ।  

मेडिकल शिक्षामा सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।

११ औं पटक अनसन बसेको १३ दिन वित्दा पनि डाक्टर केसीले उठाएका माग पूरा नभएको भन्दै विभिन्न पेशा र क्षेत्रका व्यक्तिले काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सरकारलाई दवाव दिएका हुन् ।

डाक्टर केसी बचाउ अभियानको आह्वानमा उनीहरुले माइतीघरमा भेला भएर बानेश्वरसम्म र्‍याली गरेका छन् । ¥यालीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पनि सहभागी हुनुहुन्थ्यो । बानेश्वरमा भएको सभामा कार्कीले विकृतिको विरुद्ध उठ्ने बेला आएको बताउनुभयो ।

उहाँले डाक्टर केसीले राखेका काम कानुन सम्मत भएको भन्दै ती माग पुरा नभए दुर्भाग्य हुने बताउनुभयो । पूर्व प्रधानन्यायाधीश कार्कीले डाक्टर केसीले नागरिकका लागि लडिरहेको पनि बताउनुभयो । ठुला तीन दलका शीर्ष नेताको बैठकले केसीले उठाएका माग पूरा गर्न सकारात्मक रहेको भन्दै अनसन त्याग्न आग्रह गरेका थिए । तर डाक्टर केसीले पटकपटक माग पूरा गर्ने लिखित र मौखिक सहमति उल्लंघन भएकाले आश्वासनमा विश्वास गर्न नसकिने बताउनुभएको छ । १३ दिनदेखिको अनसनका कारण डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको डाक्टरहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  ८ : ३५ बजे