१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

नभएको काम भएको भन्दै रकम सिफारिस गर्ने नगरपालिकाका पदाधिकारी स्पष्टिकरणमा



जाजरकोट, साउन २१ – जाजरकोट त्रिवेणी नलगाड नगरपालिका-११ का सबै जनप्रतिनिधि स्पष्टीकरणमा परेका छन् । त्रिवेणी नलगाड नगरपालिका-११ का वडा अध्यक्षसहित चारजना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागि सिफारिस गरेपछि उहाँहरु स्पष्टीकरणमा पर्नुभएको हो ।

नगरपालिकाको ११ चौखादेखि वडा नं– १० रजिकसम्म जोड्ने चौखा रजिक बानियाँ गाउँ, सर्मी, डोल्पा सडकको कामै नगरेको सडकमा काम गरेको भनी जनप्रतिनिधिले सिफारिस गरेपछि जिल्ला समन्वय समितिले २३ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

कामै नगरी २३ लाख रुपैयाँ भुक्तानी गरेको भन्दै असार २३ मा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समितिले छानबिन गरेको थियो । छानबिन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधिसमेत अनियमित कार्यमा संलग्न भएको पाइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समितिलाई के कति कारणले कामै नभए पनि भुक्तानीका लागि चेक काटिएको हो भनि स्पष्टिकरण सोधेपछि छानबिन थाल्दा यस्तो तथ्य फेला परेको छ ।

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष जीतबहादुर मल्ल र सदस्य भीमबहादुर मल्ल, कृष्णकुमारी खत्री बानियाँ, विष्णुकमारी नेपाली र बिर्खबहादुर बानियाँले वडा कार्यालयको लेटरप्याडमा ९० मिटर मात्र खनिएको बाटोलाई दुई हजार ३०० मिटर खनिएको र काम पनि सन्तोषजनक भएको भन्दै भुक्तानीका लागि स्थानीय विकास अधिकारीलाई सिफारिस गर्नु भएको थियो ।

कामै नभए पनि नक्कली बिल भरपाई पेश गर्ने जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्मालाई बरखास्त गरिएको छ ।

जनप्रतिनिधिलाई जिल्ला समन्वय समितिले के कति कारणले कामै नभएको बाटोको निर्माण सम्पन्न भयो भनि सिफारिस गरियो दुई हप्ताभित्र स्पष्टिकरण पेश गर्न पत्र पठाएको जिल्ला समन्वय समितिले बताएको छ ।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेत, सचिव सुष्मा विसी र कोषाध्यक्ष जयकुमारी खत्रीलाई पनि स्पष्टिकरण सोधिएको छ । निर्वाचित भएको एक सय दिन नबित्दै वडाका सबै पदाधिकारी स्पष्टिकरणमा परेका छन् । घटना सार्वजनिक भएपछि कामै नगरेको सडकमा भुक्तानी दिइसकेको चेकसमेत कार्यालयले थुतेर रद्द गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । रासस

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  ८ : ४१ बजे