१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सीमापारीको काठ तस्करी, व्यवसायीको लगानी, प्रहरीलाई आम्दानी !



बसन्त गिरी, कपिलबस्तु, २३ साउन ।

भारतको बलरामपुर जिल्ला भित्र पर्ने सुहेलवा संरक्षित बन क्षेत्रमा दुई महिना यता तिब्र बन फडानी संगै काठ तस्करी मौलाएको छ । असार–साउनमा बन गस्ती न्यून हुने मौका छोपी तस्करहरुले भारतीय सीमा सुरक्षा बल एसएसबीको साठगाठमा दैनिक जसो कालो सिसौको तस्करी गरिरहेका छन् । भारतीय बजारमा विक्री गर्न नमिल्ने भएकाले उनीहरुले सीमामा पर्ने अर्ररा नदी पार गरि नेपाली भूमी हुदै व्यापारी सम्म पुरयाउने गरेका छन् । जसमा भारतीय सुरक्षाकर्मी संगै नेपाली सुरक्षाकर्मी र बन कर्मचारी समेत मिलेको बताइन्छ । अवैध रुपमा भारतबाट तस्करी गरि ल्याइएको जंगली सीसौ विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाका केहि स–मिलमा ल्याई त्यसलाई कागजपत्र मिलाएर आवादीको बनाई विक्री गरिन्छ । ठकुरापुर इलाका बन कार्यालय तथा गणेशपुर इलाका प्रहरी कार्यालय अन्र्तगत पर्ने उक्त क्षेत्रबाट विगत २ महिनामा ९ पटक ठूलो परिमाणमा काठ बरामद गरिएको छ । जुन क्रममा बन कार्यालयले ३९८.१७ क्यूफिट काठ बरामद गरेको हो । साउन महिनामा मात्रै विशेष सुराकीको आधारमा बन कर्मचारीले ४ पटक भारतबाट तस्करी गरि ल्याइएको सिसौ बरामद गरेको छ । साउन ३ गते विजयनगर ७ मधनगरमा १५ थान सिसौको गोलिया नदी किनारमा लुकाई राखेको अवस्थामा फेला परेको थियो । यसै गरि साउन ६ गते विजयनगर ७ पर्शुरामपुरको अर्ररा नदी किनारबाटै ४५ क्यूफिट र ७ गते राती १० थान सिसौको गोलिया (५७.२२ क्यूफिट) बेवारिसे अवस्थामा बरामद भएको सहायक बन अधिकृत नागेन्द्र सिंहले जानकारी दिए ।

साउन १७ गते राती बन कर्मचारीले विशेष सुराकीको आधारमा विजयनगर ७ नरैनापुर बाट ४१ क्यूफिटका १३ थान जंगली सिसौ बरामद गरेका छन् । यी तथ्यांकबाट पनि सो क्षेत्रमा भारतबाट सयौ परिमाणमा काठ नेपालमा तस्करी भइ आइरहेको पुष्टि हुन्छ ।  विगतका बर्षहरुमा स्थानीय गुगौलीका राष्ट्रिय बनमा निर्धक्क काठ तस्करी गरिरहेको गिरोह ५ बर्ष यता साझेदारी बन स्थापना संगै विस्थापित भई भारतीय काठमा आखा गाड्न पुगेको गौतमबुद्ध साझेदारी बनका अध्यक्ष जानकी यादवको भनाई छ । “पहिला हाम्रो बन सखाप र उनीहरुको हराभरा, सुरक्षित थियो , अहिले हाम्रो सुरक्षित र उनीहरुको बन तस्करको कब्जामा छ” उहाले भन्नुभयो । स्थानीय उपभोक्ताहरुमा सालको विकल्पमा जंगली सिसौको माग बढेपछि तस्करहरुले भारतीय जंगलमा धावा बोलेको उहाको दाबी छ । बन जंगल र प्रकृतिको कुनै सीमा हुदैन अवैध बन फडानी जसको भएपनि यसको विरोध गर्नुपर्छ अध्यक्ष यादवले भन्नुभयो । तस्करहरुको संजाल निकै बलियो भएकाले सहजै तोड्न नसकिने उहाको ठम्याई छ ।

श्रोतका अनुसार काठ तस्करीको संजालका मुख्य लगानीकर्ता त्यस क्षेत्रका स–मिल तथा फर्निचर उद्योग हुन् । भारतबाट आउने जंगली सिसौ स्थानीय लालपुर स्थित जमाल काष्ठ उद्योग, चरिगवाको पाठक काष्ठ उद्योग, बेदमौको रफिक काष्ठ उद्योग तथा गणेशपुरको अनिल चौधरीको मिल हुन् । उनीहरुले काठ कटानी, एसएसबी, नेपाल प्रहरी, बन कर्मचारी मिलाउने देखि लिएर कटानको ज्याला खर्च, ढुवानी सम्मको रकम एकमुष्ठ रुपमा तस्करहरुलाई बुझाउने गरेका छन् । गत जेष्ठमा काठ सहित पक्राउ परेका २ जनाको बयानका आधारमा पनि स्थानीय काठ व्यवसायी नै काठ तस्करीका मुख्य योजनाकार भएको पुष्टी हुन्छ । तर बन कार्यालयले किन व्यापारीलाई कारवाही गर्दैन यो सबैको चासोको विषय भएको स्थानीयबासीको भनाई छ । काठ तस्करी मौलाउनुमा प्रहरीको समेत हात भएको स्थानीयबासीको आरोप छ । सम्बन्धीत गणेशपुर प्रका तथा सीमामा रहेको ठकुरापुर प्रहरी चौकीले महिनावारी रुपमा रकम लिई दिउसै हुने काठ तस्करी नियन्त्रणमा चासो नदेखाएको सर्वसाधारणको आरोप छ ।

श्रोतका अनुसार भारतबाट भित्रने अवैध काठ सर्काने स–मिलले गणेशपुर प्रहरीलाई मासिक २५ हजारका दरले आर्थिक सहयोग गर्ने गरेका छन् । आर्थिक लेनदेनबारे गणेशपुर प्रहरी कार्यालयका निरिक्षक खिम बहादुर घर्ती मगरले अनभिज्ञता प्रकट गर्नुभयो । “हामीलाई यसबारे थाहा छैन” उहाले भन्नुभयो । नियमित गस्ती गरेको र बन कार्यालयललाई आवश्यक्ता अनुसार सहयोग गरेको उहाको भनाई छ ।

यता मिल संचालकहरुले समेत यस विषयमा ठाडै अस्वीकार गर्दछन् । आवादीको काठ तथा लिलाम गरिएको केहि भारतीय सिसौ मात्र खरिद गरि विक्री गरेको उनीहरुको दाबी छ । आफुहरुले कसैलाई रकम दिएर लाईन मिलाएर अवैध काम नगरेको काष्ठ व्यवसायीहरुको भनाई छ । काठ तस्करीमा बन कर्मचारीको कुरो नमिलेपछि अहिले धमाधम काठ पक्राउ गरिएको ठकुरापुरबासीहरुको आरोप छ । “पहिला कुरा मिलेको थियो सबै ठिक थियो, अहिले मिलेन पक्राउ गरिन्छ” स्थानीय नईम खानले भन्नुभयो । पक्राउ गरिएको काठ समेत कम मूल्यांकन गरि गोप्य लिलाम सुचना निकाली त्यही स–मिललाई नै दिने गरिएको उहाको दाबी छ । भारतबाट तस्करी गरि ल्याइने जंगली सिसौ स–मिलले प्रति क्यूफिट ६ सय देखि ८ सय सम्म लिने गरेका छन् । शुक्रबार प्रकाशित भएको कपिलवस्तु दर्पण साप्ताहिकमा बसन्त गिरीले खबर छाप्नुभएकोछ ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  ४ : ३३ बजे