२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

अर्घाखाँचीमा १०३ घरगोठमा आगलागी



अर्घाखाँची ।
अर्घाखाँचीमा डेढ महिनाको अवधिमा आगलागीबाट एक सय तीन घरगोठमा जलेका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत चैत एक गतेदेखि वैशाख १२ गतेसम्म जिल्लाभर एक सय तीन घरगोठ जलेका जानकारी दिए।

वैशाख महिनामा मात्र जिल्लाभर ३१ स्थानमा आगलागी भएको छ।

वन क्षेत्रमा लागेको आगोको लप्का बस्तीमा फैैलिएपछि ४२ घर पूर्ण र एक घरमा आंशिक क्षति भएको छ । अहिले आगलागी पीडित परिवार खुला आकाशमा बस्न बाध्य छन्।

त्यसैगरी ५८ गोठ पूर्ण र दुई गोठमा आंशिक क्षति भएको छ। ५३ पशुचौपाया मरेका र १९ पशुचौपाया घाइते भएका छन्। डढेलोमा एउटा मोटरसाइकल र दुईवटा साइकल पनि जलेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ।

त्यस्तै, चालु आर्थिक वर्षमा जिल्लाका एक सय १३ स्थानका दुई हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लागेका डिभिजन वन कार्यालयका वन अधिकृत यादव सापकोटाले बताए। वन क्षेत्रमा घाटगद्दी गरिएका पाँच सय ८३ क्युफिट काठ जलेर नष्ट भएका उनले बताए। -रासस

प्रकाशित मिति : १४ बैशाख २०८१ शुक्रबार ००:००  ५ : ०६ बजे