१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

माछा जोनले फेरेको चौधरीको जीवन



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. १० का उपेन्द्र चौधरी पेशाले केमिकल इन्जिनियर हुन् । भारतमा केमिकल इन्जिजियर पढेर उतै जागीर गरेका चौधरी आफ्नो पेशा परिवर्तन गरी व्यवसायिक माछापालन तर्फ तल्लिन छन् ।

केमिकल उद्योगमा इन्जिनियरको जागीर खादा चौधरीका दुवै मृगौला खराब भए । उद्योगको असरले उनको मृगौला खराब भएपछि आफ्नै दिदीले मृगौला दिएर उनलाई बचाइन् । दुबै मृगौला प्रत्यारोपण गरेपछि चौधरीले पुनः नयाँ जीवन पाएका हुन् ।

जीवनको युवा अवस्थामै प्राणघातक रोगले गालेपछि स्वदेश फर्किएका चौधरी केही समय घरमै आराम गरे । विस्तारै शारीरिक अवस्था ठीक हुन थालेपछि चौधरीमा गाउँघरमै केही गर्नुपर्छ भन्ने सोच पलायो । यही सोचले चौधरीलाई अन्ततः व्यवसायिक माछापालन तर्फ आकर्षित गरेको हो ।

चौधरी भन्छन्, ‘‘शारीरिक रुपमा अस्वस्थ भएपछि घरमै बसिरहेको थिए । घरमै बसिरहदा शरीर फुर्तिलो र जागरिलो हुँदैनथ्यो । फेरि आर्थिक समस्या बढ्दै थियो । मैले केही गर्नु नै थियो । यही परिवेशमा कृषि मै भविष्य देखेर व्यवसायिक माछापालन गर्न लागेको हुँ ।’ उनले समर एकीकृत कृषि तथा माछा फर्म दर्ता गरी व्यवसाय सञ्चालन गरिरहेका छन् ।

चौधरीलाई माछापालन तर्फ आकर्षित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई कपिलवस्तुले गरेको हो । माछा जोन क्षेत्र भित्र पर्ने बुद्धभूमि १० मा परियोजनाले माछापालन किसानलाई व्यवसायिकता तर्फ लगानी बढाउन हौसलासँगै सहयोग गरिरहेको छ ।

चौधरी जिल्लाकै नमूना माछापालक किसानको रुपमा रहेका परियोजना कपिलवस्तुका कार्यालय प्रमुख सहसराम कुर्मी चौधरीले बताए । ‘उहाँ (चौधरी) पेशाले केमिकल इन्जिनियर हो । उहाँले माछापालनबाट व्यवसायिक जीवन सुरुवात गर्नुभयो । परियोजनाले आफ्नो दायरामै रहेर उहाँलाई सक्दो सहयोग गरिरहेको छ । चौधरीले गरेको कामले सिंगो परियोजनालाई सन्तृष्ट मिलेको छ ।’

चौधरीले आफ्नो र भाडामा गरी झण्डै एक सय कठ्ठामा माछापालन गरेका छन् । आठ पोखरीमा भुरा माछा ५० हजार र ठूला माछा ४० हजार छन् ।

उनलाई परियोजनाले प्रति हेक्टर जलाशयको तीन लाखका दरले अनुदान उपलब्ध गराएको चौधरीले बताए । यस्तै उन्नत नश्लको माछाको उत्पादन तथा उत्पादकत्व वृद्धि प्रदर्शन कार्यक्रम, दानामा ५० प्रतिशत अनुदान, पोखरीमा अक्सिजन बढाउने यन्त्र (एरियटर) लगायतमा पनि सहयोग पाएको परियोजना प्रमुख चौधरी बताउँछन् । यस्तै आकस्मिक सेवा मार्फतको कार्यक्रमबाट पनि उनले सहयोग पाएका छन् ।

चौधरीलाई उत्पादित माछा बेच्न कुनै समस्या छैन । उनको माछा कपिलवस्तुका विभिन्न बजारमा जान्छन भने रुपन्देहीसम्म उनले माछा निर्यात गर्ने गर्छन् । उनको पोखरीमा कमन, सिल्भर, ग्रास, रहु, नैनी, पङ्गास, विगहेड जातका माछा रहेका छन् । दिनभर माछापोखरीमै समय विताउने चौधरीले झण्डै आधा दर्जनलाई प्रत्यक्ष रोजगारी दिएका छन् । माछा लिनका लागि साना ठूला व्यापारी पोखरीसम्मै आउँने गरेको उनले बताए ।

बुद्धभूमि १० माछापालनको दृष्टिले उपयुक्त स्थान हो । प्रयाप्त जमीन रहेको यस स्थानमा सतही पानीको सुविधा छ । सडक पहुँचले छोएको यस स्थानमा चौधरी जस्तो अन्य किसान पनि माछापालन तर्फ आकर्षित भएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८० शनिबार ००:००  ४ : २२ बजे