२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

अर्घाखाँचीमा फस्टाउँदो बाख्रापालन



प्रेमनारायण आचार्य, अर्घाखाँची ।
भारतमा राम्रो कमाइ गरिरहेका शीतगङ्गा नगरपालिका–१३ सिमलपानीको ढावका किसान विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रा पालन सुरु गरे । नमुना कृषि तथा पशुपक्षी पालन फर्म दर्ता गरेरै उनी बाख्रा पालनमा लागे । उनको फार्ममा अहिले साना ठूला गरी झण्डै एक सय ५० बाख्रा छन् ।

“वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफ्नै जन्मभूमिमा आएर बाख्रा पालेको छु । वार्षिक रु १०/१२ लाख खर्च कटाएर आम्दानी हुने गरेको छ । चार जनालाई प्रत्यक्ष र अप्रत्यक्ष पाँच जनालाई रोजगारी पनि दिएको छु ।” उनले भने ।

झन्डै ७४ रोपनी क्षेत्रफलमा घाँस खेती र बाख्रा फार्म रहेको छ । शीतगङ्गा नगरपालिका–६ जुकेनाको फेदी रहेको लक्ष्मण ओलीको बाख्रा फार्म पनि लोभ लाग्दो छ । स्थानीय डिहि आधारभूत विद्यालयका प्रधनाध्यापक अर्थात् जागिर खान जाजरकोटबाट आएका ओली विद्यालयमा अध्यापनसँगै व्यावसायिक बाख्रा पालनमा समेत लागेका हन् । उनको गोठमा अहिले एक सय २४ वटा बाख्रा छन् ।

एमएड पास गरेका उनी मात्र होइन् उनकी श्रीमती करुणा ओली पनि शिक्षिका हुुन् । तर उनीहरूले समाजमा केही गरेर अरुलाई प्रेरणाको स्रोत बन्न सकिन्छ भन्ने मान्यताका साथ बाख्रा पालनमा लागे । बाख्रापालनको लागि राम्रो स्थान, चरनको व्यवस्था आदि भएको देखेपछि बाख्रापालनमा लागेको शिक्षक ओलीको भनाइ छ ।

गोठमा एक सय २४ वटा बाख्रा छन् । ओलीले भने, “एक वर्षमा बोका तथा बाख्राका पाठी बेचेर २१ लाखको कारोबार भयो । बाख्राको दाना, घाँस, औषधि उपचार, कर्मचारीको तलब आदि सबै खर्च कटाएर आठ लाखभन्दा बढी बचत भएको छ ।” उनको फार्ममा चार जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

शिक्षण पेसा मूल पेसा भएकाले आफूले व्यवस्थापन मात्र गरेको बिहान बेलुकाको समयमा मात्र आफूले बाख्राको हेरचार गर्ने गरेका छन् । कृषि प्रधान देशमा कृषि पेसा गर्नुपर्छ भन्ने मान्यताका साथ बाख्रापालनमा आफूहरूले बढी जोड दिएको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बाख्रापालन कृषकलाई बाख्ङ स्रोत केन्द्रका लागि अनदान, खोर निर्माण, नष्ल सुधारका लागि बोका वितरण, घासको बीउ वितरण, औषधि वितरण लगायतको सहयोग गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अर्घाखाँचीका प्रमुख विष्णुबहादुर मग्रातीले बताए ।

शीतगङ्गा नगरपालिकाले उत्पादनमा आधारित खसीबोकाको बिक्रीमा प्रतिकिलो रु ५० नगरपालिकाले अनुदान दिँदै आएको नगर प्रमुख छविलाल पौडेलको भनाइ छ ।

जिल्लाभर करिब ५५ हजार माउ बाख्रा रहेको उक्त माउबाख्राबाट उत्पादन भएका पाठापाठीहरू तथा मासुजन्य खसी बोका कपिलबस्तु, दाङ, रुपन्देही तथा काठमाडौँ, पोखरालगायतका स्थानमा मासुका लागि जाने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाख्रा पालक किसानलाई खोर निर्माण, उन्नत जातको बोका तथा बाख्रा खरिद, घाँस खेतीलगायत प्राविधिक रुपमा सहयोग गर्दै आएपछि कृषकहरु पनि खुशी भएका छन् । जसका कारण किसानलाई बाख्रापालनमा सहयोग पुगेको प्राविधिक प्रमोद भट्टराईले बताए ।

व्यावसायिक बाख्रापालनमा लागेका किसानलाई यसैमा टिकाउनका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कम्प्युटर अपरेटर मनोज खनालले बताएका छन् ।

आयातमा आधारित अर्थतन्त्रमा रहेको सन्दर्भमा निर्यात प्रबद्र्धनमा बाख्रापालनले सहयोग पुग्ने छ । बाख्रा पालनको लागि अर्घाखाँची जिल्ला सम्भावना बोकेको जिल्ला हो ।

साना किसानलाई उत्साहित बनाउँदै व्यावसायिक रुप प्रदान गर्ने उद्देश्यले शीतगङ्गा नगरपालिकाले उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमअन्तरर्गत सहकारीमार्फत तौलगरी खसी बोका बिक्री गर्ने गरेको छ । जसका कारण किसान लाभान्वित भएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८० शुक्रबार ००:००  ७ : ४० बजे