११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

सुनौली नाकामा भारतको नाकाबन्दीमा जस्तै अवरोध



भैरहवा, २४ साउन ।
भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेका छन् । भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यका अनुसार सुरक्षा कारण भन्दै भारतीय प्रहरीले चेकजाँचमा कडाइ गरेर यातायात साधनको आवत–जावतमा अवरोध गरिरहेको छ ।
मधेस आन्दोलन र भारतीय नाकाबन्दीले वीरगन्ज पूर्ण रूपमा ठप्प हुँदासमेत आंशिक रूपमा प्रयोगमा रहेको यो नाकामा भारतीय सुरक्षाकर्मीका कारण साउनको पहिलो सातादेखि अवरोध छ ।
सुनौलीमा भएको अवरोधमा फसेका ट्रक व्यवसायीलाई विलम्ब शुल्क तिर्दा व्यवसायी करोडौँ घाटामा गएका छन् । सो शुल्क उपभोक्ताबाट उठाउँदा नेपालमा महँगी बढ्ने निश्चित भएको छ । तर, यो अवरोध किन भयो र कतिन्जेल चल्छ भन्ने निश्चित छैन । जब कि यातायात अवरोधले नेपालतर्फ करिब तीन किलोमिटर र भारततर्फ पाँच किलोमिटर जाम भइसकेको छ ।
यस्तो अवरोध पार गरेर गाडी पास हुन कम्तीमा एक साता लाग्ने भएको छ । नाका सहज बनाउन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा दुई देशका अधिकारीबीच छलफल भए पनि अवरोध हट्न सकेको छैन । लखनउस्थित विधानसभा परिसरमा दुई साताअघि बम भेटिएपछि भारतीय प्रहरीले तीन सय २२ किलोमिटर टाढा सुनौली नाकामा अवरोध गरेको हो । ढुवानी साधनलाई मात्र होइन, आउने–जाने यात्रुलाई खल्तीसमेत छामेर अपमानित गर्ने काम गरिरहेको छ ।
छिटोभन्दा छिटो यातायात चल्ने आश्वासन पाएको छु यातायात साधन मात्र होइन, आउने–जाने यात्रुलाई समेत अवरोध भएको विषयमा मैले भारतीय विदेश मन्त्रालयका अधिकारीहरूसँग गम्भीर चासो व्यक्त गरिसकेको छु । सुरक्षा जाँचबुझ गर्दा ढिलो भएकाले यातायातमा अवरोध भएको उनीहरूको भनाइ छ । तर, यो अवस्था लामो समय रहन्न । छिटोभन्दा छिटो यातायात पूर्ववत् रूपमा चल्ने आश्वासन पाएको छु ।
आजको नयाँ पत्रिका दैनिकमा दिपेश पछाईले भैरहवाबाट खबर लेखेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  ११ : ५२ बजे