१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कांग्रेसका मेयरले नयाँ गाडी किन्न २ करोड बजेट छुट्याए



धनगढी, २५ साउन ।
दलित समुदायबाट पहिलोपटक मेयर निर्वाविच भएर चर्चा बटुलेका धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले सुरुमै आलोचना बढाउने काम गरेका छन् । उनले गाडी खरिदकै लागि २ करोड बजेट छुट्याएका छन् । गाडी खरिदका लागि बजेट छुट्याउने उनको निर्णयप्रति विपक्षी दलका प्रतिनिधि र नागरिकले चर्को आलोचना गरेका छन् ।
आर्थिक वर्ष २०७४÷७५ को बजेट वक्तव्यमा धनगढी उपमहानगरपालिकाले सवारी साधन खरिदका लागि २ करोड छुट्याएको छ । उक्त बजेट मेयर वडका लागि नयाँ गाडी खरिद गर्न प्रयोग गरिने उपमहानगरपालिकाका एक कर्मचारीले बताए ।
यस्तै उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको विभिन्न वजेट शिर्षकमा पदाधिकारी र कर्मचारीहरुलाई आर्थिक लाभ हुने गरी रकम विभाजन गरिएको पनि विपक्षी दलका प्रतिनिधिले आरोप लगाएका छन् ।
‘पुँजी निर्माण खर्च’ शीर्षकमा २ करोडको गाडीसँगै १५ लाखको फर्निचर र १० लाखका मेसिनरी औजार खरिद गर्ने विषय पनि उल्लेख छ । उपमहानगरपालिकाको झण्डै २० करोड बजेट कर्मचारीको तलवका लागि मात्रै छुट्याइएको छ ।
बजेटमा ५० लाख रुपैयाँ कर्मचारी तथा पदाधिकारीको भत्ता, ४६ लाख कर्मचारी र पदाधिकारीको लागि ईन्धन, फर्निचर मेसिनरी औजारका लागि ४५ लाख, भ्रमणका लागि ३० लाख, अतिथि सत्कारमा २० लाख र भैपरी विकास शिर्षकमा ५० लाख, गाडी मर्मतका लागि ४० लाख वजेट विनियोजन गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले अनुपात्दक क्षेत्रमा मात्रै १ करोड ६४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । जस अन्तर्गत विविध खर्च शिर्षकमा ४६ लाख, मर्मत सम्भारमा २८ लाख, सवारी मर्मतमा २० लाख ईन्धनमा ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै कार्यालय सम्बन्धी खर्चमा ४० लाख, पोशाकमा १० लाख, खाद्यान्न तथा आहारामा १० लाख औषधी उपचारमा ८ लाख भाडा वापत २८ लाख परामर्श तथा अन्य सेवा शुल्कमा ५ लाख आर्थिक सहायतमा ५ लाख परिषद सञ्चालन गर्नका लागि दुई पटक गरी १५ लाख रकम छुटाईएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  १२ : २४ बजे