१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नवलपरासीमा ४० घण्टादेखि यातायात अबरुद्ध



नवलपरासी, २९ साउन ।
दाउन्नेमा सडक भासिएका कारण अबरुद्ध रहेको यातायात खुलाउन सकिएको छैन । लगातारको बर्षा नरोकिएका कारण सडक भासिएको स्थानमा वैकल्पिक मार्ग बनाउन नसक्दा यातायात सञ्चालनमा आउन नसकेको हो । दाउन्नेको दर्जनौं स्थानमा पहिरो खसेर राजमार्ग अबरुद्ध भएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत बर्दघाटतर्फ दाउन्नेको एस मोडदेखि केहि पूर्वतर्फ पक्की सडक २५ मिटर तल खसेको छ । सडक भासिएको स्थानमा वैकल्पिक सडक (डाइभर्सन) बनाउन गरिएको प्रयास लगाताको वर्षातका कारण सम्भव भएको छैन । पहिरो हटाउन र डाइभर्सन बनाउन गएको डोजरले वर्षादका कारण काम गर्न सकेको छैन ।
लगातारको वर्षादका कारण उक्त खण्डमा यातायात सञ्चालन हुन नसक्दा पश्चिमवाट पूर्वतर्फ हिडेका यात्रुबहाक वस बुटवल पोखरा हुदै राजधानी काठमाडौंतर्फ जाने गरेका छन् ।
झापा, मोरङ, वीरगन्ज जाने यात्रुबहाक बस भने अलपत्र परेका छन् । दाउन्नेको पहाडमा गाडीमा अलपत्र यात्रुहरु चाउचाउ र बिस्कुटका भरमा दिन काटेका छन् । यात्रु जाममा परेको अवस्थामा चाउचाउ , बिस्कुट र मिनरलवाटर (पानी)को आफूखुसी मुल्य असुलेको गुनासो यात्रुहरुको छ ।
पश्चिमबाट महेन्द्र राजमार्ग हुँदै पूर्व हिडेका गाडीलाई प्रहरीले बुटवलमै रोकेको छ भने पूर्ववाट पश्चिम तर्फ हीडेका गाडीलाई दुम्किवासमा रोकेको छ । जिल्ला प्रहरीले राजमार्गमा बैकल्पिक सडक नबनाइएसम्म पोखराको बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।
कान्तिपुरमा नारायण शर्माले खबर लेख्नुभएको छ ।

 

 

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ३ : ४६ बजे