१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रौतहटमा गर्भवती महिला बोकेको गाडीको दुर्घटना, ६ जनाको मृत्यु



रौतहट, साउन २९ ।
रौतहट जिल्लामा गर्भवती बोकेको गाडी बाढीले बाटो भत्काएको स्थानमा खोलामा खस्दा ६ जनाको मृत्यु भएको समाचार छ । गाडीमा सवार दुईजना भने पौडेर बाँच्न सफल भएका छन् ।

जिल्लाको लौकाह गाउँबाट गर्भवती महिलालाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । राती करिब तीन बजे भारतीय नम्बर प्लेटको गाडीमा लौकाहबाट प्राथमिक स्वास्थ्य केन्द्र राजपुर परदहवा लैजाने क्रममा लालबकैया नदीको बाढीले सडक कटान गरेको स्थानमा गाडी खस्न पुगेको थियो । बाढीले राजपुर डमार चोक र अस्पतालबीच बाटो बगाएको छ ।

गाडीमा आठ जना सवार रहेकोमा चालक र एक जना अर्का व्यक्ति भने पौडेर बाँच्न सफल भएका थिए । गाडीमा सवार गर्भवतिसहित ४ जना महिला तथा २ पुरुषको मृत्यु भएको छ ।

दुर्घटनाको खबरपछि स्थानीय राजपुर इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गौरबाट सई किशोरी यादवको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । त्यस्तै, फतुवा सशस्त्र बेस क्याम्पको टोली पनि घटनास्थलमा उद्दारको लागि पुगेको थियो ।

शवहरुलाई खाल्डोबाट निकालिएको छ भने गाडी भने अझै खाल्डोमा नै रहेको प्रहरीले जनाएको छ । मृत्तकहरुको शनाखत हुन बाँकी रहेको छ । स्थानीय आरजु आलमका अनुसार मारिने प्रायः राजपुरका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ४ : ४४ बजे