३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

बाढी पहिरोबाट अहिलेसम्म ६४ जनाको मृत्यु, ४४ घाइते, ३६ वेपत्ता



काठमाडौं, २९ साउन ।
राष्ट्रिय मानव अधिकार आयोगले डुबान तथा बाढी पहिरोबाट विभिन्न जिल्लामा अहिलेसम्म ६४ जनाको ज्यान गएको जनाएको छ ।

गृहमन्त्रालय लगायत विभिन्न स्रोतबाट प्राप्त विवरण अहिलेसम्म बाढी, पहिरो र डुबानमा परेर ४४ जना घाइते भएका छन् भने ३६ जना बेपत्ता भएका छन् ।

झण्डै १९ हजार घरपरिवार विस्थापित भएका, ७ सय २८ घरहरु पूर्णरुपमा क्षति भएका तथा २ हजार १ सय ५३ घरमा आंशिक क्षति भएको मानवअधिकार आयोगले जनाएको छ ।

बाढी, पहिरो तथा डुबान पछि सृजित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राहत, उद्धारको लागि प्रभावकारी कार्य भएको नपाइएको भन्दै तत्काल जुट्न आग्रह समेत गरेको छ ।

प्राकृतिक प्रकोपपछि देखा पर्न सक्ने सरुवा रोगको प्रकोप तथा महामारीबाट संरक्षणका लागि चिकित्सकको अस्थायी टोली व्यवस्थापन गर्न, बाढी, पहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन, पूर्व सावधानी अपनाउन, जोखिममा परेका सुत्केरी महिला, बालबालिका, जेष्ठ नागरिक तथा असहाय व्यक्तिलाई आवश्यकता अनुसार खोज, उद्धार र राहत कार्यमा अविलम्ब लाग्न आयोगले सबैमा विशेष आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  १ : ५६ बजे