१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

संबिधान संशोधन प्रस्ताव अघि बढ्यो, सत्तापक्षको यस्तो छ तयारी !



काठमाडौं, ३२ साउन ।
व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव अघि बढेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी (राजपा) बिच भएको सहमति अनुसार सरकारले नेपाल संविधान दोस्रो संशोधन विधेयक, २०७३ लाई दफावार छलफलका लागि संसदमा पेश गरेको हो ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले विधेयकलाई दफावार छलफलका लागि पेश गरेसँगै संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन राख्न सुरु गरेका छन् ।
अघिल्लो सरकारले वैशाख १८ गते नै संशोधन प्रस्ताव अघि बढाउन खोजे पनि पारित हुनका लागि चाहिने दुई तिहाइ बहुमत नपुग्ने भएपछि सरकार पछि हटेको थियो ।
संविधान जारी भएसँगै राष्ट्रिय जनता पार्टीले संविधानको केही अन्तरवस्तुमाथि असहमति जनाउँदै भाषा, प्रदेशको सीमा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा असन्तुष्टि जनाउँदै आएको छ ।
कुनै पनि हालतमा संशोधन पारित हुनुपर्ने अडान राख्दै आएको राजपाले निणायर्थ पेश गर्दा जस्तो सुकै परिणाम आए पनि स्विकार गर्ने प्रतिबद्धता जनाएपछि सरकारले संशोधन अघि बढाएको हो ।
प्रतिपक्षी एमालेले यसलाई राष्ट्र र राष्ट्रियताको विषयसँग जोडिएको भन्दै पारित गर्न नहुने पक्षमा उभिदै आएको छ । आफ्नो संशोधन प्रस्ताव पेश गर्दैै एमाले सांसद रेवतीरमण भण्डारीले सरकारले प्रस्ताव गरे अनुसार कुनै पनि हालतमा पारित गर्न नहुने विचार राख्नुभयो । संसद बैठक भदौ ४ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ३ : ५४ बजे