८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतीय तटबन्धकै कारणले तराई डुबान



सप्तरी, १ भदौ ।
कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्ग्किलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ । यसबाट ६ सय परिवारको उठिबास भएको छ भने हजारौं बिघा जमिनमा लगाइएको धानबाली सखाप भएको छ ।
भारतले बनाएको पश्चिमी तटबन्ध (भारदहदेखि तिलाठीसम्म) राखिएका ६ वटा जलद्वार (स्लुइस गेट) बाट कोसीको पानी नेपाली भूभागमा छिरेको हो। यी जलद्वारबाट केही वर्षअघिसम्म नेपाली भूभागको पानी कोसीमा गएर मिसिन्थ्यो । यी क्षेत्रमा पानी नपस्ने र डुबान नहुने भएकाले यिनलाई ‘सुरक्षित क्षेत्र’ का रूपमा ‘चर्चित’ रहेको रम्पुरा मल्हनियाँका वासिन्दा तथा अधिवक्ता देवनारायण यादवले बताउनुभयो ।
उहाका अनुसार च्यानलाइज गरेपछि कोसीको पानीले भारदह, हनुमाननगर हुँदै इनरवा, को.बर्साइन, रम्पुरा मल्हानियाँ, कोइलाडी, सकरपुरा, तिलाठी, जोगनिया वडा नं. १ र २, लाई डुबानमा पारेको हो । कोसीको पानीले मात्र १० किलोमिटर चौडाइ र १६ किलोमिटर लम्बाइको नेपाली भूभाग डुबानमा परेको यादवले बताउनुभयो । नेपालमै उत्पत्ति भएको मौलीको पानीसमेत कोसीमा मिसिने गरेको थियो। तर, मौलीको पानीसमेत डुबानको कारक बन्यो । ‘सुरुदेखि नै कोसीका ५६ ढोकामध्ये पश्चिमतर्पm (नेपाली भूभाग आउने) का ढोका खोलिदियो, जसले गर्दा पानी यतै (नेपालतर्फ) आयो,’ उहाले भन्नुभयो ।
भारतले गत वर्ष ‘कोसी पश्चिमी तटबन्ध बाढी नियन्त्रण आयोजना’ कोसीको पानीलाई मध्यभागबाट बगाउने उद्देश्यले ब्यारेजदेखि तल तीन किलोमिटर ‘च्यानल’ खनेपछि कोसीको पानी मध्यतिर नगई पश्चिमी (नेपाली क्षेत्र) तर्फ सोहोरिएर नेपाली भूभाग डुबानमा परेको हो । ‘भारतले कोसीको मध्यभागमा च्यानल बनाएर बीचबीचै कोसीको पानी बगाउन खोज्यो,’ यादवले भन्नुभयो, ‘तर पानी मध्यतिर नगई नेपाली भूभाग भएको पश्चिमी तटबन्धमा हानियो, जसले गर्दा त्यो पानी हामीकहाँ र्छियो ।’
एकातिर कोसीको पानी पश्चिमी तटबन्ध हुँदै नेपाली भूभागतर्फ सोहोरिएर आयो भने अर्कोतर्फ रम्पुरा मल्हनियाँ, तिलाठीलगायत नेपाली भूभागको पानी कोसी नदीमा नगई उल्टै कोसीको पानी छिर्न पुगेकाले बढी डुबान भएको स्थानीयको भनाइ छ । केही वर्षअघिसम्म कोसीको नदी सतह (रिभर बेड) पश्चिमी तटबन्ध (नेपाली सुरक्षित भनिएको भूभाग) भन्दा तल रहेकाले नेपाली क्षेत्रको पानी कोसीमा मिसिने गर्थ्यो, यसबाट नेपाली भूभाग डुबानमा पर्न पाउँदैनथ्यो । ‘अहिले स्थिति ठीक उल्टो छ, यहाँको पानी कोसीमा जानुपर्नेमा उल्टै कोसीको पानी यता (नेपाली भूभाग) मा आइरहेछ’ हनुमाननगर कंकाल्नी नगरपालिका वडा नं. ११ का मोहन दासले भने, ‘पहिला खेतको उचाइ धेरै थियो र पानी जान्थ्यो ।’
गत साता आएको बाढीले दासको १९ कठ्ठामा लगाइएको धानबाली पूर्णरूपमा सखाप भएको छ भने उहाको घर पनि भत्काइदिएको छ । हाल उहा पश्चिमी तटबन्धमा पाल टाँगेर चार छोरी, तीन छोरासहित आफ्नो परिवार शरणार्थी बन्न बाध्य हुनुभएको छ । दासका अनुसार भारतले पश्चिमी तटबन्धमा रहेका ६ वटा जलद्वार समयमै मर्मत नगरेकाले पानी नेपाली भूभागमा छिरेको हो । अघिल्ला प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कोसी ब्यारेजस्थित भारतीय नियन्त्रण कक्षका अधिकारी विजय सिंहलाई स्लुइस गेट मर्मत गरिदिन आग्रह गर्नुभएको थियो । नेपालको अनुरोधलाई भारतले कुनै वास्ता नगरेको अधिवक्ता यादवले बताउनुभयो ।
आजको अन्नपूर्ण पोस्ट्मा विकास थापा र मनोहर पोखरेलले समाचार लेख्नुभएको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  २ : ५६ बजे