७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

संबिधान संशोधन प्रस्तावको विरुद्धमा एमालेले संसद् अवरोध नगर्ने



काठमाडौं, १ भदौ ।
संविधान संशोधनको प्रस्तावलाई व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने सर्वदलीय सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएलगत्तै संशोधन प्रस्ताव संसद्मा प्रस्तुत भएको छ ।
बैठकमा नेकपा एमालेले सदनमा संशोधन प्रस्ताव प्रस्तुत गर्दा कुनै बाधा अवरोध नगर्ने सहमति गरेको थियो । बैठकमा सहभागी नेताहरू दिएको जानकारी अनुसार एमालेले प्रस्तावको पक्ष वा विपक्ष कहाँ मत दिने भने यकिन गरेको छैन ।
बैठकमा प्रधानमन्त्री देउवाले बाढीपीडितको उद्धार र राहत, संविधान संशोधनका साथै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा दलहरूको रायसुझाव माग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा काँग्रेस, एमाले र माआवादी (केन्द्र) एकै चरणमा चुनाव गर्न सहमत भएका थिए ।
सहमतिअनुसार आगामी मङ्सिरभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगसँग परामर्श, आवश्यक ऐनकानुनका निर्माण गरिनेछ । बैठकमा बाढीपीडितको राहत र उद्धारको विषयलाई लिएर सबैभन्दा धेरै छलफल भएको थियो । राहत र उद्धारको कार्यलाई तीव्रता दिन सरकारलाई नेताहरूले सुझाव दिएका थिए ।
बैठकमा सहभागी अधिकांश राजनीतिक दलका नेताले संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउनुपर्ने र असोज २ मा हुने प्रदेश २ को स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सुनिश्चितता गरिनुपर्ने जोड दिनुभएको थियो । प्रधानमन्त्रीको पहलमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेतासित अलग्गै बैठकसमेत बसेको थियो ।
सर्वदलीय बैठकपछि राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुरले संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाउन आफूहरू सकारात्मक रहेको बताउनुभयो । उहाले संविधान संशोधनपछि निर्वाचनको वातावरण बन्ने बताउँदै राजपा नेपालले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसित माग गरेको जनाकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बैठकमा आफूले अहिलेको व्यवस्थापिका संसद् कामचलाउ रहेको र कामचलाउ संसद्ले संविधान संशोधन गर्न नसक्ने सुझाव दिएको बताउनुभयो । केन्द्रीय निर्वाचनपछि बन्ने संसद्ले मात्र संविधान संशोधन गर्न सक्ने उहाँको सुझाव थियो ।
तीन दलको बैठकमा प्रधानमन्त्री देउवा माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरू सहभागी थिए । तीन दलको बैठकपछि सर्वदलीय बैठक भएको थियो । सर्वदलीय बैठकमा प्रमुख तीन दलका साथै राजपा नेपाल, राष्ट्रिय जनमोर्चा लगायत दलको सहभागिता थियो ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  २ : ५९ बजे