१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कुबेत जान लागेका चार युवतीको कृष्णनगरबाट उद्धार



काठमाडौं, भदौ २  ।
भारतको बाटो हुँदै कुबेत जान लागेका चार युवतीलाई कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ । मानव बेचबिखन विरुद्ध काम गर्दैआएको केआई नेपाल संस्था र नेपाल प्रहरीको सयुंक्त गस्ती टोलीले कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट उनीहरुलाई उद्धार गरेको हो ।
महिनाको ४० हजार रुपैयाँ तलब दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै उनीहरुवाई कुवेत लैजान लागिएको थियो । कुबेतमा रहेकी रीता मगरले भिसा पठाउने र दिल्लीबाट कुवेत जान सजिलो हुने भएकाले आफूहरु त्यता जान लागेको उनीहरुले बताएका केआई नेपाल कपिलवस्तुका जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो ।
उद्धार गरिएका उनीहरुलाई अहिले केआई नेपालको संरक्षणमा राखिएको छ । युवतीको घर नवलपारसी नै भएकाले अभिभावकलाई बोलाइएको र उनीहरु आएपछि जिम्मा लगाउने तयारी भएको विश्वकर्माले जानकारी दिनुभयो ।–रासस

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  १० : ४४ बजे