१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे



रोल्पा, ४ भदौ ।
केही दिनयता भएको निरन्तर वर्षात्का कारण रोल्पा जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ ।
जिल्ला अस्पताल रेउघा रोल्पामा सो बिरामीका कारण उपचार गर्न आउनेको संख्या दैनिक १५÷२० जना रहने गरेको छ भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत उपचारमा आउने बिरामीको संख्या सोही अनुपातमा रहेको जिल्ला अस्पतलाल रोल्पाले जनाएको छ ।
बालबालिका तथा ज्येष्ठ नागरिक भाइरल ज्वरोबाट बढी प्रभावित हुने गरेको जिल्ला अस्पताल रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले जानकारी दिनुभयो । भाइरल ज्वरो मौसमी समस्या भए पनि यसपटक विगतको तुलनामा बढिरहेको डाँगीले बताउनुभयो ।
यसैगरी जिल्लाका स्वास्थ्य संस्थामा झाडापखाला, आउँ, रगतमासीका बिरामीहरु पनि बढेको बताइएको छ । झाडापखालाका कारण उपचार गर्न जिल्ला अस्पतालमा मात्र दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको बताइएको छ । वर्षात्को फोहर पानीका कारण टाइफाइड र कमलपित्त पनि देखिन थालेकोे उहाँले जानकारी दिनुभयो ।
रुघाखोकी लाग्दा मास्क प्रयोग नगर्नु, सिँगान पुछेको हात नधोएर हात मिलाउनेजस्ता कारणले भाइरल ज्वरोका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । भाइरल ज्वरो र झाडापखालाका बिरामी बढ्दै गए महामारी फैलनसक्ने सम्भावना भएकाले समयमै नियन्त्रण गर्नुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
पानी शुद्धीकरण गरेर प्रयोग गर्न, नियमितरुपमा शौचालय प्रयोग गरी साबुन पानीले हात धुन तथा मास्क प्रयोग गर्न जिल्ला अस्पताल रोल्पाले सर्वसाधारणमा अनुरोध गरेको छ । रासस

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  १० : १७ बजे