१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गण्डक जलविद्युत केन्द्र ठप्प हुँदा दैनिक १० लाखको घाटा



वृजराज कुशवाहा, नवलपरासी, ४ भदौ ।
गण्डक बाँध भत्काएपछि नवलपरासीको सुरजपुरामा रहेको १५ मेगावाट क्षमताको गण्डक जलविद्युत केन्द्र बन्द भएको छ । केन्द्रको विद्युत उत्पादन ठप्प हुँदा दैनिक १० लाख बराबरको क्षति व्योहोर्नु परेको केन्द्र प्रमुख सुरेश राउतले जनाएका छन् ।

अबिरल वर्षाापछि आएको बाढीका कारण डुबानमा परेको भन्दै सुस्ता गाउँपालिकाका स्थानीयवासीले भदौ १ गते गण्डक नहरको बांध भत्काउने प्रयास गरेका थिए । जलमग्न भएको साबिक रुपौलिया गाविसको छिबनी, फेचुहा, सातपति र महलबारी क्षेत्रको डुबानको पानी बगाउनका लागि १८००० क्युसेक क्षमतामा सिचाईका लागि भारतको उत्तर प्रदेश पानी जाने मुख्य गण्डक पश्चिमि नहरको बाँध २४ आर डि मा काटेका हुन् ।

नहरको बांध काटेपछि गण्डक जलविद्युत केन्द्रको पानी बन्द भई उत्पादन ठप्प हुदा नेपाल सरकारलाई दैनिक १० लाख नोक्सान व्योहोर्नु परेको छ । उत्पादन बन्द भएपछि विद्युत पुर्याउन धौं धौं भएको बताउदै केन्द्र प्रमुख राउत भन्छन् स्थानीयले एकातिर पानी रोकेर उत्पादन बन्द गराउछन् अर्का्तिर चौबिसै घण्टा विजुली खोज्छन् ।

यश विषयमा समाधानका लागि बसेको नेपाल, भारत र बाढीपीडितहरुको त्रिपक्षीय बैठकमा सहमति नभएपछि नहर थप सात दिनका लागि बन्द राख्नुपर्ने भएको छ । उता गाउँबस्ती डुबानमा परेकाले बाढीका पानी निकासका लागि बाँध फुटाई पानी बगाउन खोजेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  ११ : ४२ बजे