१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

अनियमितामा मुछिएका एजेण्ट जेल चलान



भैरहवा ४ भदौ ।
भैरहवा भन्सारमा भएको अनियमितामा मुछिएका एजेण्ट जेल चलान भएका छन् । किर्ते प्रज्ञापनपत्र बनाएर अवैध रुपमा मालवाहक ट्रकको भन्सार पास गराएको अभियोगमा भैरहवा भन्सार कार्यालय एजेण्ट जगतराज दाहाललाई पूर्पक्षका लागि थुनामा पठाइएको हो ।

भन्सार ऐन दफा ५७ को उपदफा १ अन्र्तगत चोरी पैठारी गर्ने प्रयत्न गरेको अभियोगमा दाहाललाई १ वर्ष कैद र विगो अनुसारको जरिवाना दाबी गरिएको छ । भन्सारले करिब ५४ लाख विगो दाबी गरेको छ । दाहालका छोरा दीपकले षड्यन्त्र गरेर आफ्नो बुबालाई फसाइएको दाबी गरेका छन् ।

यता किर्ते प्रज्ञापनपत्र बनाएर राजश्व घोटाला गर्ने नियतका साथ काम गरेको भन्दै भन्सार अधिकृत मानबहादुर विश्वकर्मासहित नासु सुवास शर्मा, खरिदारद्धय अतुल शर्मा र विनय जोशीलाई भन्सार विभागले निलम्ब गरेको छ । उनीहरुलाई सबै जिम्मेवारीबाट मुक्त गर्दै अनुसन्धान सम्पन्न नहुँदा सम्म निलम्बन गरेको भन्सार विभागका निर्देशक दिव्या पोख्रेलले बताउनुभयो ।

प्रज्ञापन पत्रमा उल्लेख रहेको भन्दा बढी साम्रगी फेला परेपछि भैरहवा भन्सार कार्यालयले साम्रगी आयत गर्ने माँ मनकामना इन्टरनेशनलका संचालक राजन तिमिल्सिनाको नाममा वारेण्ट जारी गरेको छ ।

आयात गर्ने कम्पनीका सञ्चालक राजन तिमिल्सिनाको नाममा दर्ता रहेपनि साम्रगी आयात गर्ने कम्पनी चितवन टाढीका राजु थापाको रहेको स्रोतको दाबी छ । तिमिल्सिना थापाका ‘स्टाफ’ हुन् ।

भन्सार विभागका निर्देशक दिव्यराज पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन टोलीले घटनाको सोमबारसम्म प्रतिवेदन पेश गर्ने जनाएको छ ।

संयोजक पोखरेलका अनुसार प्रज्ञापनपत्रको दुरुपयोग भएको छ । उनले भने, हामी गहन अध्ययन अनुसन्धान गरी यस्ता गलत कार्य अब उप्रान्त भन्सारमा नदोहरीने गरी दोषीलाई कारबाही सहितको माग गर्दै प्रतिवेदन पेश गर्दैछौं ।’

एउटै प्रज्ञापन पत्रबाट दुई वटा मालवाहक गाडीको राजश्व तिरेको प्रज्ञापन पत्रमा देखाएको र प्रज्ञापन पत्रमा उल्लेख रहेको भन्दा बढी साम्रगी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले समेत छानविन गरिरहेको छ ।
स्रोत ः सलमान खान, अनलाइन खबर ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  १२ : १० बजे