२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

कपिलबस्तुमा झाडापखालाको प्रकोप , ३ जनाको मृत्यु



बासुदेव बर्मा, कपिलबस्तु ४ भाद्र

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. ७ मा झाडापखालाको प्रकोप फैलिएको छ । तीन दिन अघि फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएकोे छ । बर्षाका कारण आएको बाढिले पानीको श्रोत दुषित बनाउंदा महामारी फैलिएको स्थानीयले बताएका छन् ।

सुरुमा टाउको दुख्ने, वान्ता हुने र पखाला लाग्ने समस्याबाट ग्रसित सर्वसाधारणमा हाल पेट दुख्ने समस्या पनि थपिएको छ । नगरपालिकाको सतभरा र गघौंडी गाउँमा फैलिएको प्रकोपका कारण हालसम्म १२० जना भन्दा बढी झाडापखालाबाट प्रभावित भएका छन् ।

झाडापखालाको प्रकोपबाट महाराजगंज नगरपालिका वडा नं. ७ सत्भरा गाउका चैतराम रैदासका ८ वर्षका छोरा तारेस रैदास, सञ्जु यादवकी ६ बर्षिया छोरी रिन्का यादव र गघौंडी गाउँका जमुना चमारकी श्रीमती बर्ष ३५ कि शान्तिदेवी चमारको झाडापखालाका कारण मृत्यु भएको कुशहवा स्वास्थ्य चौकी इन्चार्ज बसन्त कुमार मण्डलंले बताउनुभएको छ ।

अन्य थप बिरामीलाई शिवराज अस्पतालमा भर्ना गरेर उपचार ब्यबस्था मिलाइएको समेत उहाले बताउनुभयो ।

मृतक रिन्का यादवको परिवारबाट ६ दिन अघि सुरु भएको संक्रमण अन्यमा समेत देखिन थालेपछि ५ दिनपछि मात्र स्वास्थ्यकर्मीको टोलीले उपचारका लागी जुटेको थियो ।

घटनामा बालिकाको मृत्यु भएपछि कुशहवा हेल्थपोष्ट, महाराजगंज अस्पताल र शिवराज अस्पताल बहादुरगंजको स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको बताइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  २ : ०१ बजे