१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सत्तापक्षको संविधान संशोधनको प्रयास असफल



काठमाडौं, ५ भाद्र ।
संविधान संशोधन प्रस्ताव संसदबाट अस्वीकार भएको छ । सोमबार भएको मतदानमा पक्षमा ३ सय ४७ विपक्षमा २ सय ६ मत आएको छ ।
संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत नपुगेपछि संविधान संशोधनको प्रयास असफल भएको हो । सोमबार संसदमा ५ सय ५३ सांसद उपस्थित थिए । दुई तिहाई संख्याका लागि ४८ सांसद नपुगेको हो । संशोधन विधेयक माथिको दफावार छलफलपछि मतदान प्रक्रिया गरिएको थियो । प्रस्ताव पारित हुन संसदमा रहेको ५ सय ९२ सांसदको दुई तिहाई अर्थात ३ सय ९५ सांसदको समर्थन आवश्यक थियो ।
राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न सरकारले संशोधन प्रस्ताव पेश गरेको थियो । राजपाले संविधान संशोधन संसद्बाट पारित नभएको विषयलाई आन्दोलनको मुद्दा बनाउँदै आएको थियो ।
संशोधनको पक्षमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम लगायतले मत दिएका थिए भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विपक्षमा मत दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र नेकपा मालेले मतदानमा भाग लिएनन् । राजपाले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन पूर्व संविधान संशोधन हुनुपर्ने माग गर्दै आएको थियो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संशोधन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
संविधानमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र प्रदेशको सीमाङ्कन लगायतका विषयमा संशोधन प्रस्ताव पेश भएको थियो । विधेयकको दफाबार छलफलमा ५३ जना सांसदले भाग लिएका थिए । प्रस्ताव गएको साउन ३२ गते संसदमा पेश गरिएको थियो । विधेयकमाथि ५० वटा संशोधन पेश भएका थिए ।
संविधान संशोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टीले प्रस्ताव पास वा फेल जे भए पनि संसदीय प्रक्रियाबाट आएको नतिजा स्वीकार्ने सहमति जनाइसकेको छ । भदौ ६ गते मंगलबार १ बजे संसदको अर्को बैठक बस्ने छ ।

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  ४ : ०९ बजे