१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका



काठमाडौँ, ७ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणमा बुधबार बिहान नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लाग्नुभएको हो । नयाँदिल्लीमा बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा साँझ अबेरसम्म व्यस्त हुनुहुनेछ ।
भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार बुधबार अपराह्न नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उहाँले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ ।
बुधबार साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबिच स्वागत गर्नुहुनेछ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ ।
बिहीबार नै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्नुहुनेछ भने त्यस लगत्तै हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबिच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ ।
दुई देशका सरकारप्रमुखबिचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ ।
दुबै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनुहुनेछ । बिहीबार अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।
त्यसैगरी, उहाँसँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
इण्डिया फाउण्डेशनले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने अन्तक्र्रियामा सहभागी भएर प्रधानमन्त्री देउवा आफ्नो सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ ।
शुक्रबार अपराह्न प्रधानमन्त्री विशेष विमानबाट हैदरावादतर्फ प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले तेलांगना र आन्ध्रप्रदेशका राज्यपाल इएसएल नरसिंहनसँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि उहाँ आफ्नो सम्मानमा राज्यपाल नरसिंहनले आयोजना गर्नुहुने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा शनिबार बिहान विशेष विमानबाट तिरुपतितर्फ प्रस्थान गर्नुहुनेछ भने अपराह्न तिरुपति बालाजीको दर्शन गरेर वोधगयातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । आइतबार बिहान महावोधी मन्दिरमा पूजाअर्चना सकेर उहाँ विशेष विमानबाटै नयाँदिल्ली पुग्नुहुनेछ । शनिबार अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री साँझ स्वदेश फर्कने कार्यक्रम छ । रासस

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  १ : ३६ बजे