११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

सिंगो नेपाली महिलाकी शान, नेपाल आइडलमा सुजाता जिताउन अभियान !



मायादेवी अनलाइन, रुपन्देही, ८ भाद्र ।
‘सुजातालाई नेपाल आइडल बनाऔं अभियान’ टोलीले बिहिबार दिउँसो कपिलवस्तुका विभिन्न स्थानमा पुगि भोटको अपिल गरेको छ । अन्तराष्ट्रिय फ्रेन्चाइजी प्राप्त नेपालकै ठूलो गायन प्रतियोगिता ‘नेपाल आइडल’ मा प्रदेश नंं ५ की एक मात्र प्रतिस्पर्धी रुपन्देही तिलोत्तमाकी सुजाता पाण्डेलाई विजयी बनाउन सबै संग टोलीले भोटको अपिल गरेको हो ।
कपिलवस्तु पनि संगितको क्षेत्रमा अगाडी रहेको भन्दै छिमेकि जिल्लाका चेली सुजाता पाण्डेलाई भोट दिई जिताउन अभियान टोलीले सबै संग आग्रह गरेको छ । नेपाल आइडलका प्रतिष्प्रर्धा गर्ने सबै ५ जना मध्ये चार जना पुरुष छन् । तर सुजाता पाण्डे सिंगो महिलाको प्रतिनिधि आवाज पनि हुन । कला र गलामा उत्कृष्टता रहेकोले “सिंगो नेपाली महिलाको शान” को रुपमा सुजातालाई हेरी भोट दिन हाम्रो तर्फबाट पनि सम्पूर्ण पाठकमा अपिल छ ।
यता ‘सुजातालाई नेपाल आइडल बनाऔं अभियान’ ले बुटवलमा गरेको पत्रकार सम्मेलनमा सहभागीहरुले दर्शकबाट धेरै भोट पाउने प्रतियोगीले नै उपाधि जित्ने भएकाले सुजातालाई जिताउन सबैले सक्दो योगदान गर्नुपर्ने अपील गरेका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले सुजाता नेपाल आइडलको उत्कृष्ट ५ जनामा पुग्नु रुपन्देहीको मात्र नभई सिंगो प्रदेश नंं ५ कै गौरव भएकाले अब उपाधि जिताउने गरी लाग्न सबैसंग अपील गर्नुभयो ।
कार्यक्रममा बोल्दै संगीतकार सुरेश सेन्चुरीले रुपन्देहीबाट यसअघि टेरिया फौजामगर, आकांक्षा बस्याल, लक्की दीपक, सोनु घिमिरे, संगीत पौडेल लगायतले दर्शक भोटका आधारमा राष्ट्रिय स्तरका प्रतियोगिताहरु जितेको इतिहास रहेको भन्दै यसपटक नेपाल आइडलले रुपन्देही र प्रदेश नंं ५ वासीलाई झन् ठूलो इतिहास रच्ने अवसर दिएको बताउनुभयो ।
राममणि क्याम्पस संचालक समितिका सदस्य यज्ञ गैरेले दर्शकको भोट नै निर्णायक हुने प्रतियोगिताको नियम भएकाले रुपन्देही र ५ नंं प्रदेशको पहिचान उचो बनाउन सुजातालाई जिताउनुपर्ने धारणा राख्नुभयो । एपीवान टेलिभिजनबाट बिहीबार (आज) राति पौने ९ बजेदेखि नेपाल आइडलको प्रतिस्पर्धा प्रशारण हुदैछ ।
बिहीबार सुजाता सहित उत्कृष्ट ५ जनाको प्रतिस्पर्धा हुंदैछ । प्रतिस्पर्धामा प्रदेश नंं ५ को प्रतिनिधित्व गर्ने सुजाता एक मात्र प्रतियोगी हुन् । एसएमएस भोट आफूलाई मन परेको प्रतिस्पर्धीको प्रस्तुति हेरिसके पछि मात्रै गर्नुपर्ने नियम छ । प्रस्तुति शुरु नहुंदै गरेको भोट गणना हुंदैन । एसएमएस भोट शुक्रबार मध्यान्ह १२ बजेसम्म गर्न सकिने प्रतियोगिताको नियम छ ।
उत्कृष्ट ५ जना प्रतिस्पर्धीहरुमा एक मात्र महिला सुजाता संगै पोखराका बुद्ध लामा, चितवनका सागर आले, बिराटनगरका निशान भट्टराई र काठमाडौंका प्रताप दास रहेका छन् । दर्शकबाट सबैभन्दा कम भोट पाउने एकजना प्रतिस्पर्धी हरेक हप्ता प्रतियोगिताबाट बाहिरिंदै जान्छन र बढी भोट पाउने सुरक्षित हुंदै अघि बढ्छन् ।
प्रतियोगिताको विजेताले २० लाख नगद, ३० लाख मूल्य पर्ने महिन्द्रा केयुभी गाडी र करिब १५ लाख रूपैयां बराबरको गीत रेकर्ड तथा म्युजिक भिडियो बनाउने खर्च पाउने छन् । सुजाता राममणि क्याम्पस मणिग्रामकी बीबीएसकी छात्रा हुन् भने बागेश्वरी संगीतालयमा संगीतको जुनियर डिप्लोमा कोर्ष पनि पढ्दैछिन् ।

 

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  १२ : २९ बजे