६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

सफाइको नमूना विद्यालय



दिपक अनुरागी, कपिलवस्तु, ९ भाद्र ।
दैनिक ४ सय विद्यार्थीको आवत जावत, खाइ खेली गर्ने विद्यालय चिरिच्याट्ट परेको सफा छ । हेर्दा लाग्छ यहाँ विद्यार्थी चकचके छैनन् वा विद्यालयले छुट्टै सफाइ कर्मचारी रोखेको छ । तर होइन, विद्यालय कसरी सफा राख्न सकिन्छ ? उदाहरण हुन सक्छ कपिलवस्तु वाणगंगा २ बैजलपुरको पञ्च निम्न माध्यमिक विद्यालय । २०४५ सालमा स्थापित यो विद्यालय सफाइमा जिल्लाकै नमूना छ, जसले २०६३ सालमा राष्ट्रिय सफाइ पुरस्कार पाएको थियो ।
प्रधानाध्यापक जगतराम रेग्मी ८ भन्छन, ‘विद्यालय सफा राख्न हामीले धेरै मेहनत गरेर एउटा पद्यती बनाएका छौं । काम पद्यतीले गर्छ । हामीले त्यसलाई अनुशरण गर्ने हो ।‘।
विद्यालयमा सिकाइमात्रै होइन वातावण पनि सफा चाहिन्छ । सफा वातावरणले सिकाइमा मद्दत पुर्याउँछ । यही कुरा मनन् गरी विद्यालय क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र बनाएर थालिएको सफाइ अभियान सफल बनाउन विद्यालय फोहोर व्यवस्थापनको लागी विद्यार्थीको सफाइ क्लब बनाइएको छ । आफूले प्रयोग गरेका सामग्रीबाट उत्पादन हुने फोहोर व्यवस्थापनका लागि विद्यालयका ठाउँ ठाउँमा डोकोको प्रयोग गरिएको छ । जहाँ जे हुन्छ त्यही प्रयोग गर्ने हो । आफ्नै गाउँघरमा बनेको डोकोको महत्व विद्यार्थीलाई बुझाउन र प्लाष्टिक मुक्त विद्यालय बनाउन डोको प्रयोग गरिएको विद्यालयले जनाएको छ । विद्यालय प्राङ्गण भित्र डोकोमा जम्मा गरिएको फोहोरलाई चार किसिमले वर्गिकरण गरिएको छ । जसमा पहिला जलाउने फोहोर, प्लाष्टिक फोहोर, कवाड फोहोर र कम्पोष्ट फोहोर छन् ।
किताबका पाना, कागजका टुक्रा लगायत फोहोर जलाउने गरिएको छ । प्लाष्टिकलाई जलाउँन पाइदैन । प्लाष्टिक खाल्डोमा पुरिन्छ । कबाड सामान कवाडीलाई बेचिन्छ । यसरी सामान बचेको पैसा बाल क्लबले संकलन गर्छ । यस बाहेक सफाइ नमूना विद्यलाय घुम्न आउने पर्यटकका लागि भनेर दान बाकस पनि राखिएको छ । यो पैसा पनि बाल क्लबलेनै संकलन गर्छ । यसरी क्लबले अहिलेसम्म करिब ४५ हजार रुपैया बचत गरेको छ । प्रत्येक ३र३ महिनामा निकालिने ब्याजले सफाइ सामान किन्ने गरिएको छ ।
विद्यालय क्षेत्रबाट रहेका रुखबाट झरेका पात संकलन गरेर कम्पोष्ट मल बनाउने गरिएको छ । प्रोटिन र भिटामिन प्राप्त हुने फलफूलबारे विद्यार्थीलाई जानकारी दिन विद्यालय क्षेत्रमा लगाइएका फलफूलका बोटमा यही कम्पोष्ट मल प्रयोग गर्ने गरिएको छ ।
विद्यालयमा नर्सरी देखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । २ देखि कक्षा ६ सम्मका सबै बालबालिका ल्याप्टप र कम्युटरको पहुँचमा छन् । कक्षा ४ देखि ८ सम्म कम्प्युटर मार्फत पढाइन्छ । प्रत्येक विद्यार्थीकोे निरन्तर मुल्याङ्कन प्रणाली, गरिब जेहेन्दार विद्यार्थीलाई विद्यालयकै लगानीमा कापिको व्यवस्था विद्यालयले गरेको छ । साझा शिक्षा इ पाटि र शिक्षा विभागले प्रत्येक विद्यार्थीलाई कम्प्युटर र ल्यापटपका लागि सहयोग गरेको छ ।
विद्यार्थीको प्रतिभा पहिचानका लागि हरेक शुक्रबार अतिरिक्त क्रियाकलापको व्यवस्था गरिएको छ । त्यसको लागी विद्यालयमा सभा हल बनाइएको छ । शिक्षकको नियमितताका लागि शिक्षक आचार संहिता निर्माण गरिएको छ । जसम शिक्षक कहाँ छ ? विद्यालय वा बाहिर ? काजमा भए कँहा कति दिन ? विदा भए कुन विदा ? कति दिनको बिदा, विद्यालयलाई जानकारी छ कि छैन ? जस्ता सबै कुरा लेखि शिक्षकको दैनिकी गतिबिधिको निगरानी गरिन्छ । यसले क्षिकलाई पनि जिम्मेवार बनाएको छ ।
विद्यालयमा अपाङ्मैत्री शौचालय, छात्रा र छात्रमैत्री शौचालयको निर्माण गरिएको छ । महिनावारी हुँदा समस्या नहोस् भनेर छात्रा स्नान घरको व्यवस्था गरिएको छ । वाणगंगा नगरपालिका १, र २ वडा यस विद्यालयको सेवा क्षेत्र हो । सेवा क्षेत्रका सबै बालबालिका विद्यालयमा समेटिएको व्यवस्थापन समितिले जनाएको छ ।
प्रध्यानाध्यापक रेग्मी ८ विद्यालय विकासका लागि दूरदृष्टि जरुरी रहेको बताउँछन् । राजनीतिक आस्थाबाट विद्यालयलाई हामीले धेरै पर राखेका छौं, उनले भने, राजनीति बोकेर विद्यालय छिरेर विद्यालय बन्दैन । सबै शिक्षकले आफ्ना छोराछोरी यही विद्यालयमा पढाएका छन् । वर्षेनी विद्यार्थीको चाप बढ्दो छ । हाल विद्यालयमा ४ सय विद्यार्थी छन् । सरकारी सेवामा कार्यरत अरुले पनि आफ्ना छोराछोरी यही विद्यालयमा भर्ना गरेको उनले जनाए ।

प्रकाशित मिति : ९ भाद्र २०७४ शुक्रबार ००:००  १२ : ३० बजे