८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राज्यकोषको ब्रह्मलुट : ६ महिनामा साढे ८२ करोड बाँडियो



काठमाडौं, ११ भदौ ।
गृह मन्त्रालयले गत आर्थिक वर्षको अन्तिम ६ महिनामा मात्र विभिन्न शीर्षकमा करिब ८२ करोड ६४ लाख ९१ हजार रुपैयाँ वितरण गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर गृहले राज्यकोषबाट ठूलो रकम पहुँचवालाहरूलाई वितरण गरेको हो ।
आर्थिक सहायता, मृतक आर्थिक सहायता, उपचार सहायता, मधेस आन्दोलनका घाइतेलाई उपचार खर्चलगायतका शीर्षकमा रकम बाँडिएको छ । विभिन्न शीर्षकमा सहायता पाउनेको संख्या १ हजार २ सय ३० छ । आर्थिक सहायता पाउनेको नामावली भने मन्त्रालयले गोप्य राखेको छ ।
मन्त्रालय स्रोतका अनुसार उक्त रकम पूर्वगृहमन्त्री विमलेन्द्र निधिका पालामा मात्र बाँडिएको हो । ‘मन्त्रीज्यूबाट कार्यकर्तालाई कुनै पनि कानुनी निर्दे्शिकाविनै त्यसरी पैसा बाँड्ने काम भएको थियो,’ गृह मन्त्रालय स्रोतले भन्यो,‘हरेकपटक सरकार परिवर्तन हुँदा आफ्ना कार्यकर्तालाई यसरी नै पैसा बाँड्ने गरिएको छ ।’
शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि पनि राज्यकोषबाट आर्थिक सहायता, उपचार सहायताका नाममा करिब एक करोड वितरण भइसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
गृहले १० जनाको उपचार खर्चका लागि करिब ९ लाख रुपैयाँ वितरण गरेको छ । उपचार खर्च सहायताका लागि स्वास्थ्य मन्त्रालय मार्फत प्रस्ताव पेस गर्नुपर्ने कानुनी व्यवस्था विपरीत गृहबाट पैसा बाँडिएको हो । मन्त्रालयले गैरकानुनी रूपमा आर्थिक सहायता लिनेको नामावली दिन भने अस्वीकार गरेको छ । मन्त्रालयले १० जनालाई ८ लाख ९३ हजार ५ सय ९८ रुपैयाँ दिएको हो । उनीहरूलाई कस्तो रोग लागेको भन्ने पनि खुलाएको छैन ।
 नयाँपत्रिकाबाट 

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  १ : ३५ बजे