७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सुपादेउरालीमा जाने पर्यटकको संख्यामा दोब्बरले वृद्धि



अर्घाखाँची, १२ साउन ।
प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा जाने धार्मिक पर्यटकको संख्या वृद्धि भएको छ । बिगतका वर्षको तुलनामा आजभोलि मन्दिर जाने दर्शनार्थीको संख्या दोब्बर भन्दा बढी छ ।
विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार भक्तजन आउने गरेकामा अहिले दैनिक एक हजार देखि दुई हजारजना सम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताउनुभयो ।
‘नेपाल मन्दिरै मन्दिरको देशको रुपमा चिनिन्छ र यहाँका कतिपय मन्दिरमा मासिक लाखौ भेटी संकलन भएपनि उपयोग भएको सुनिदैन तर जिल्लाको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको यस मन्दिरको भेटी भने विकास निर्माणका काममा उपयोग भइरहेको छ ।
मन्दिरमा चढाएको भेटीबाट खाँचीकोट स्थित आदर्श माविमा छ जना र सितापुर स्थित शान्ति निमाविमा चार शिक्षकलाई तलव उपलब्ध गराउन मासिक एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले बताउनुभयो ।
यस्तै सन्धिखर्कमा रहेको पाणिनी बेद विद्याश्रमका लागि वार्षिक एक लाख रु. २० हजार उपलब्ध गराउनुका साथै अन्य विकास निर्माणका काममा पनि सहयोग उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।
गत वर्ष सो मन्दिरमा रु. ६० लाख आम्दानी भएको थियो भने यसवर्ष रु ८० लाख पुग्ने अनुमान छ । मन्दिरको दर्शनका लागि अर्घाखाँची, कपिलबस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीबाट बढी पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाट समेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  १ : ३५ बजे