८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भ्रष्टाचार गरेको भन्दै विप्लवका कार्यकर्ताले दले रोल्पाका जिल्ला शिक्षा अधिकारीलाई कालो मोसो



रोल्पा, भदौ १२ ।
नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव) को विद्यार्थी संगठन अनेरास्वव्यु क्रान्तिकारीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई दुर्व्यवहार गरेका छन् ।
जिल्ला शिक्षा अधिकारी पौडेलले विभिन्न विद्यालयको भवन निर्माण गर्दा ५ हजारदेखि २० हजारसम्म घुस लिएको, विद्यालयको आवश्यकता भन्दा पनि फरक विषयका शिक्षक घुस खाएर नियुक्ति गरेको, घुस दिने शिक्षकलाई समयमै तलब निकासा गर्ने र अन्यको खाता रोक्का गर्ने गरेको, घुस लिएर शिक्षा ऐन विपरित शिक्षकको सरुवा गरेको लगायतका आरोप लगाउँदै अनेरास्वव्यु क्रान्तिकारीका कार्यकर्ताले दुर्व्यहार गरेका हुन् ।
घुस नदिने शिक्षकको विद्यालयमा मात्रै पटकपटक अनुगमन भन्दै दुःख दिने गरेको आरोपमा लगाउँदै उनीहरुले जिल्ला शिक्षा अधिकारी पौडेललाई सोमबार कालो मोसो दल्नुका साथै जुत्ताको माला समेत लगाएका हुन् ।
सोमबार बिहान स्रोत व्यक्तिहरुसँगको वैठक चलिरहेको समयमा पुगेका विद्यार्थी नेताहरुले कालो मोसो दलेको एक स्रोत व्यक्तिले बताए । बैठक हलमा प्रवेश गरेका युवाहरुले सुरुमा नमस्कार गर्दै हालखबर सोधेका थिए ।
त्यस लगत्तै उनीहरुले कालो मोसो दल्न थाले पछि जिल्ला शिक्षा अधिकारी पौडेलले प्रतिबाद गर्दा हातपात समेत भएको थियो ।
हातपातका कारण पौडेलको टाउकोमा चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । मोसो दले लगत्तै उनीहरु त्यहाँबाट भागेका थिए । मोसो दल्ने व्यक्तीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  ७ : ४६ बजे