१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भरतपुर अस्पतालमा न्यूरोको उपचार सुरु



चितवन, १३ भदौ ।
यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रुपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबै खाले दुर्घटनाका घाइतेहरुले उपचार पाउने भएका छन् ।
भरतपुर अस्पतालमा सिटिस्क्यान जस्ता उपकरण नहुँदा र न्यूरो सर्जनको अभावमा यसअघि अस्पतालमा आउने दुर्घटनाका घाइतेलाई स्थानीय मेडिकल कलेजमा पठाउने गरिन्थ्यो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुद्र मरासेनिकाअनुसार हालै मात्र अस्पतालमा सिटिस्क्यान सहित आवश्यक उपकरण जडान गरिएको छ । विगत ६ वर्षदेखि न्यूरोमा अनुभव हासिल गर्नुभएका न्यूरो सर्जन डा गुणराज पौडेलले काम थाल्नुभएको छ । अस्पतालमा १० जना अर्थोपेडिक सर्जन कार्यरत छन् ।
अस्पतालमा ६ वटा शल्यक्रिया गर्ने टेबलसहितको सेट छ । ट्रमा र चोटपटक सम्बन्धिका नेपालमा हुने उपचार अब भरतपुर अस्पतालमा गर्न सकिने मेडिकल सुपरिटेण्डेन्ट डा मरासेनिले बताउनुभयो । अस्पतालमा नियमित रुपमा न्यूरोका सातामा तीन दिन शल्यक्रिया समेत सुरु गरिएको उहाँले बताउनुभयो ।
आइतबार, मंगलबार र बिहीबार नियमित शल्यक्रिया हुन्छ भने २४ औं घण्टा दुर्घटनाका घाइतेलाई आवश्यक शल्यक्रियासहितको उपचार गर्न सकिने उहाँले बताउनुभयो ।
भरतपुर अस्पताललाई मदनभण्डारी ट्रमा सेन्टरको नामाकरण दिइएको भए पनि न्यून बजेट निकासा भएका कारण काम सुरु हुनसकेको थिएन । अस्पताल विकास समितिका अध्यक्ष राजकुमारराज भण्डारीले अस्पतालको आफ्नै प्रयासमा न्यूरो सर्जन नियुक्त गरी सिटिस्क्यानसहितका उपकरण जडान गर्न सफल भएपछि ट्रमा सेन्टरको रुपमा अस्पताल अघि बढेको बताउनुभयो ।
उहाँले जिल्ला र छिमेकी जिल्लामा हुने सबैखाले दुर्घटनाका घाइतेले अब सरकारी अस्पतालमा न्यून शुल्कमा उपचार पाउने छ भन्नुभयो । स्थानीय प्रशासनसँग समन्वय गरी जिल्लामा आउने घाइतेलाई उपचार गर्ने पहिलो थलोको रुपमा भरतपुर अस्पताललाई विकास गर्ने योजना रहेको पनि अध्यक्ष भण्डारीले बताउनुभयो । दुर्घटनाका घाइतेको उपचार निकै खर्चिलो हुने भए पनि सकेसम्म कम रकममा उपचार गर्ने प्रबन्ध अस्पतालले मिलाउने दाबी उहाँको छ ।
सवारी दुर्घटनामा परेका घाइतेको बढी टाउकोमा चोट लाग्ने गर्दछ । अस्पतालमा सरदर दैनिक दुई जना गम्भीर घाइते आउने गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार गत वर्षमा जिल्लामा गम्भीर घाइतेको संख्या ५७५ रहेको थियो । सामान्य घाइते निकै बढी हुनेगरेको भन्दै उहाँले छिमेकी जिल्लाबाट पनि जिल्लामा हुने भन्दा बढी घाइते उपचारका लागि यहाँ आउने गरेको बताउनुभयो ।
कैयौ घाइतेको लामो समयको उपचारपछि मृत्यु समेत हुनेगर्दछ भने कतिपयलाई उपचार नै लामो समय गर्नुपर्ने हुन्छ । सरकारी अस्पताल परिसरमा नै स्पाइनल इञ्जुरी केन्द्र रहेकाले पनि सबै खाले दुर्घटनाका घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल उपयुक्त हुने भरतपुर अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा कृष्ण पौडेलले बताउनुभयो । रासस

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  ११ : १६ बजे